एसियाड २०२३ मा नेपाललाई क्रिकेटको शान- नेपालको कीर्तिमान नै कीर्तिमान

0
Shares

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद–२०२३ मा नेपाली पुरुष क्रिकेट टोलीले कीर्तिमानै कीर्तिमान रचेको छ ।

भर्खरै सम्पन्न एसिया कपमा नेपालले गरेको प्रदर्शनको विश्वमा वाहवाही भएको अवस्थामा नेपाली पुरुष क्रिकेट टोलीले रचेको यो कीर्तिमानले नेपाली क्रिकेटको झनै शान बढाएको छ ।

नेपालले बुधबार मंगोलियाविरुद्धको खेलमा सात नयाँ विश्व कीर्तिमान बनाएको हो । जसमा नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटतर्फ सर्वाधिक स्कोर बनाउने विश्व कीर्तिमान बनायो । जुन स्कोर सायद नै तोडिएला ।

नेपालले समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा मंगोलियाविरुद्धको खेलमा निर्धारित २० ओभरमा नेपालले ३ सय १४ रनको योगफल बनायो । यो टी २० फरम्याटमा अहिलेसम्मकै उच्चतम स्कोर हो । यसअघि सन् २०१९ अफगानिस्तानले आयरल्यान्डविरुद्ध २ सय ७८ रनको योगफल बनाएर विश्व कीर्तिमान कायम गरेको थियो ।

यस्तै, विपक्षी टिम मंगोलियालाई २ सय ७३ रनले हराएर नेपालले फराकिलो अन्तरले हराएको नयाँ विश्व कीर्तिमान पनि रचेको छ । यो कीर्तिमान पनि तोडिन सायद समय लाग्न सक्छ । मंगोलिया १३.१ ओभरमा ४१ रनमा अलआउट भएको थियो । यसअघि चेक रिपब्लिकले टर्कीलाई सन् २०१९ मा भएको खेलमा २ सय ५७ को रनअन्तरले हराएर विश्व कीर्तिमान रचेको थियो ।

नेपालले उच्चतम योगफल र फराकिलो जितको कीर्तिमानसँगै व्यक्तिगततर्फ पनि छिटो शतक र अर्धशतक बनाउने कीर्तिमान बनाएको छ । कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका हुन् ।

५० बलमा १२ छक्का र ८ चौकासहित १ सय ३७ रन बनाएका कुशलले ३४ बलमा टी २०मा शतक प्रहार गरेका थिए । कुशलले दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरको विश्व कीर्तिमानलाई भंग गरे । उनीहरूले ३५ बलमा टी २० शतक प्रहार गरेका थिए ।

त्यस्तै, दीपेन्द्रसिंहले विष्फोटक ब्याटिङ नै गरे । उनले १० बल मात्र खेल्दै ८ छक्काको मद्दतमा अविजीत ५२ रन बनाए । उनले ९ बलमा अर्धतशतक पूरा गर्दा लगातार ६ बलमा छक्का पनि प्रहार गरेका थिए । उनले टी २० मा भारतीय अलराउन्डर युवराज सिंहले राखेको १२ बलमा अर्धशतकको विश्व कीर्तिमानलाई छायाँमा पारेका छन् ।