नेपाली खेलाडीको निराशाजनक प्रदर्शन जारी



हान्झाउ ।

चीनको हान्झाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा अन्तर्गत चौथो दिन मंगलबार नेपाली खेलाडीहरुको खराब प्रदर्शनले निरन्तरता पाइ नै रहेको छ। मंगलबार मध्यान्हसम्म भएका तेक्वान्दो, जुडो, पौडी र रग्बीका प्रतिस्पर्धामा नेपाली खेलाडीहरुलाई असफलता हात लागेको हो। पदक जित्ने आशा गरिएको तेक्वान्दोबाट आधाभन्दा बढी खेलाडीको प्रतिस्पर्धा सकिंसक्दा नेपालको कमजोर प्रदर्शन जारी नै रहेको छ । तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ७ खेलाडी पराजित हुँदै प्रतिस्पर्धा बाहिरिसकेका छन्। अब तेक्वान्दोमा तीन पुरुष र एक महिला गरी चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

मंगलबार मात्रै तीन खेलाडी पराजित भएका छन् । मंगलबार लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए । उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

अन्तिम १६ को खेलमा पनि उनले थाइल्याण्डका बानलुङ टुबतिम्दाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कडा टक्कर दिएका थिए । तर थोरैले मात्र पछि परे । पहिलो राउण्डमा १४-१२ ले पछि परेका गोविन्द दोस्रो राउण्डमा ८-७ ले पछि पर्दा २-० ले पराजित हुँदै बाहिरिएका हुन् ।

त्यसैगरी महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले पराजित भइन् । महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २-० ले पराजित भइन् । त्यस्तै, पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक(एक खेल जिते पनि अर्को खेलमा अगाडि बढ्न भने सकेनन् ।

मंगलबारै दुई जना नेपाली खेलाडी पराजित भएपछि चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको जुडोमा नेपालको चुनौती सकिएको छ । जियोसन लिन्पु जिम्न्याजियममामा भएको पुरुष १ सय केजीमाथि रन्जेश गोले काजकिस्तानका क्रिकबे गालिमजानसँग इप्पोनका आधारमा १०-० ले पराजित भए । उनी १ मिनेट ७ सेकेन्ड मात्र टिकेका थिए ।

त्यस्तै, उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा १०(० ले स्तब्ध बन्दा महिला ७८ केजीमाथिमा आकृति जोशीको यात्रा अगाडि बढ्न सकेनन् । आकृति २७ सेकेन्डमै पराजित भएकी थिइन् ।

त्यसैगरी पौडीमा पनि नेपाली पौडिवाज अनुशिया तण्डुकार हिट चरणबाटै बाहिरिइन्। उनी १ सय मिटर फ्रिस्टाइलतर्फ हिट चरणबाटै बाहिरिएकी हुन् । हाङझाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको हिट-१ मा प्रतिस्पर्धा गरेकी अनुशिया तेस्रो स्थानमा रहिन् । ६ खेलाडी सहभागी यो हिटमा उनले १ मिनेट ३।१७ सेकेन्डको समय निकालिन् । यो हिटमा ५९।२७ सकेन्डका साथ प्यालेस्टाइनकी भिलेरी ताराजी शीर्ष स्थानमा रहिन् ।

यसअघि सोमबार डुवाना लामा र एलेक्सजान्डर शाह पनि हिट चरणबाटै बाहिरिएका थिए । महिला २ सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६-२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् । यो हिटमा आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी पुरुष ५० मिटर फ्रि-स्टाइलमा आठौं स्थानमा रहेपछि एलेक्सजान्डर शाहको यात्रा पनि हिट चरणबाट अगाडि बढ्न सकेन । उनले २४।१५ सेकेन्डको समय निकाले ।

त्यसैगरी रग्बीमा पनि नेपालको प्रदर्शन बिर्सनलायक बन्यो । १९ औं एसियाड अन्तर्गत रग्बी सेभेन्समा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच भएको ९-१३ स्थान निर्धारण गर्न भएको प्रतिस्पर्धा समेत सबै खेलमा हार बेहोर्यो ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन मंगलबारसम्म नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्यो । यसक्रममा नेपाली टोलीले जम्मा १ ट्राइ र १ कन्भर्जनसहित ७ अंक मात्र जोड्न सक्यो । समग्रमा ६ खेलमा विपक्षीले नेपालविरुद्ध ५२ ट्राइका साथ ३ सय २० अंक जोडे । नेपालको प्रतियोगिता अवधिभर कुल अंक फरक – ३१३ रह्यो । नेपाल १३ टोली सहभागी प्रतियोगिताको पुछारमा रह्यो ।

नेपालले समूह चरणको सुरुवात संयुक्त अरब एमिरेट्स ९यूएई० विरुद्ध खेलबाट गरेको थियो । उक्त खेल ५५-७ ले पराजित भएको थियो। समूहको दोस्रो खेलमा चीनविरुद्ध ६५-० को हार बेहोरेको नेपाल अफगानिस्तानसँग ४१-० को हारसहित बाहिरियो । समूहको शीर्ष २ मा पर्न नसकेका अफगानिस्तान र नेपाल अन्य समूहको पुछारमा रहेका टोलीसँग ९-१३ स्थान निर्धारण गर्न अर्को लिग चरणमा खेल्नुपर्ने भयो ।

अन्य समूहको पुछारमा रहेका टोलीविरुद्ध पनि नेपालले लज्जास्पद हार बेहोर्यो । फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले हारेको नेपाल स्वतन्त्र खेलाडीको टोलीसँग ६८-० को हार बेहोर्न पुग्यो । विश्व रग्बीले श्रीलंकालाई निलम्बन गरेका कारण श्रीलंकाली खेलाडीले रग्बीमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डामुनि स्वतन्त्र खेलाडी टोलीको रुपमा खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्