दोलखा-चीन जोड्ने दुई नाका खुला



दोलखा । चीन सरकारले तिब्बतसँग सीमा जोडिएको दोलखाको दुईवटा नाका खोलिदिएको भए पनि लप्चीवासिको लागि अनुकूल नरहेको स्थानीयले गुनासो गरेका छन् ।

चीन सरकारले हालसालै देशभरीका १४ ओटा नाका खुला गर्दा तिब्बतसँग सीमा जोडिएको दोलखाको दुईवटा नाका तिब्बतको टिङ्ग्री डिस्ट्रिकमा पर्ने रोङसीया नाका र क्वादम नाका खुला गरिदिएको छ । खुला गरिएको भनिएको रोङ्सीया नाका पुग्न लप्चीबाट २–३ दिन लाग्ने र क्वादम नाकाबारेमा पूर्ण जानकारीसमेत नरहेको स्थानीयको भनाइ छ ।

दोलखाको विगु गाउँपालिका–१ मा पर्ने लप्चीका स्थानीयको लागि तिब्बतको न्यालम डिस्ट्रिकमा पर्ने रामदिङ पास हुँदै जाने नाका खोलिनुपर्ने स्थानीयको माग छ । चीनसँगको सीमानाका चार वर्षदेखि बन्द रहँदा स्थानीयलाई किनमेल तथा उत्पादित सामान बिक्रि वितरणमा समस्या हुने गरेको स्थानीय कर्मा शेर्पा बताउनु हुन्छ ।

४६ घरधुरी रहेको लप्चीमा झण्डै एक सय ५० जनसंख्या रहेको छ । उनीहरूले व्यवसायीक रुपमा ५–६ सय वटा चौरी पालेका छन् । लप्ची वासिलाई चौरीको घ्यू र बाँच्छा बेच्न आफ्नै वडाको लामाबगरसम्म ल्याउन पनि कठिन छ । नजिकको बजार तिब्बतको रामदिङ पास हुँदै जाने नाका तीन वर्षदेखि बन्द भएपछि आर्थिक समस्याको कारण खानसमेत मुस्किल भएको स्थानीयको गुनासो छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला चीन सरकारले दोलखाको दुईवटा नाका खोलिदिएको भने पनि त्यो लप्चीबासिको लागि अनुकूल नरहेको र त्यसले उनीहरूको माग सम्बोधन नहुने बताउनुहुन्छ ।

‘दोलखामा चीनको तिब्ब्तसँग सीमा जोडिएका ५५ देखि ६१ सम्म सातवटा सीमा पिलर रहेका छन् । चीन सरकारले अहिले दोलखासंगको सीमा पिलर ६० र ६१ को बीचमा पर्ने रोङ्सीया नाका खोलिदिएको छ,’ प्रमुख जिल्ला अधिकारी धमलाले भन्नुभयो– ‘तर लप्चीवासिको लागि व्यापार व्यवसाय सहज गर्न सिमा पिलर ५५ र ५६ को बीचमा पर्ने रामदिङ पास नाका खुला गरिनुपर्छ ।’

अहिले खुला गरिएको नाकाले लप्चीबासिलाई सहज नहुने र लप्चीसँगको नजिक रहेको रामदिङ्पास नाका खुलाउनुपर्ने विषयमा आफूले चीनको तिब्बत सरकारका सम्बन्धित पक्षसँग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।

विगतमा नाका नखुलेकै कारण लप्चीबासिको मुख्य आम्दानीको स्रोत चौरी, याक, चौरीको घ्यू, छुर्पी जस्ता कुरा फलाक र कुती पु¥याउन नसकिएको स्थानीय कर्माको भनाइ छ । तर अहिले नाका खुला गरिएको रोङसिया र क्वादमबाट फलाक तथा कुती पुग्न सहज नहुने स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्