सिन्धुलीमा क्षयरोगका बिरामी बढ्दै, ३ वर्षमा १७ जनाको मृत्यु



सिन्धुली । सिन्धुलीमा विगत तीन वर्षयता क्षयरोग (टिबी) संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार तीन वर्षमा उक्त रोगबाट १७ जनाले ज्यान गुमाएका छन् ।

समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, रोग संक्रमण भएमा नियमति औषधी सेवन नगर्ने र चेतनाको कमीले यो रोगबाट वर्षेनी मृत्यु हुनेको संख्यामा बृद्धि भएको उक्त अस्पतालका फोकल पर्सन तथा क्षयरोग शाखा प्रमुख पुष्पराज पन्तले बताए ।

उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा २ सय २२ जना क्षयरोगका बिरामी थिए भने ७ जनाको उक्त रोगका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ त्यो संख्या बढेर ३ सय ७४ जनामा यो रोग देखा परेको र ८ जनाले क्षयरोगका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ३ सय ७८ जना क्षयरोगका बिरामी छन् । यो रोगबाट संक्रमित ३ सय ७८ जना मध्ये २ जनाको मृत्यु भएको पन्तको भनाइ छ ।

कमलामाई नगरपालिकामा एक जना र हरिहरपुरगढी गाउँपालिकामा एक जना गरी दुई जनाको क्षयरोग कारण मृत्यु भएको उनी बताउँछन् । ‘सिन्धुलीमा वर्षेनी क्षयरोगका बिरामीहरू बढ्दै गएको पाइएको छ । मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ३ सय ७८ जना क्षयरोग बिरामी छन् । तीमध्ये कति बिरामीको रोग निको भयो ? कति जनाले ज्यान गुमाए ? भन्ने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ,’ उनले भने ।

आर्थिक वर्ष २०७९/०८० मा क्षयरोग देखिएका बिरामीहरूको अवस्था पत्ता लगाउन अहिले जिल्लाका सबै पालिकाबाट विवरण निकाल्ने काम भइरहेको उनले बताए ।

गत आर्थिक वर्षमा देखिएका क्षयरोगका बिरामीमध्ये कति जनाको रोग निको भयो र कति जनाको मृत्यु भयो भन्ने वास्तविक तथ्याङ्क प्रकाशनको तयारी भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

अहिले सिन्धुलीको ९ वटा पालिकामध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकामा ११४ जना क्षयरोगका बिरामी रहेको उनले बताए ।

त्यसपछि मरिण गाउँपालिकामा ७९ जना, दुधौली नगरपालिकामा ६७ जना, हरिहरपुरगढी गाउँपालिकामा ४५ जना, तीनपाटन गाउँपालिकामा ३२ जना, सुनकोशी गाउँपालिकामा १९ जना, फिक्कल गाउँपालिकामा १५ जना, घ्याङलेख गाउँपालिमा ११ जना र गोलञ्जोर गाउँपालिकामा सबैभन्दा कम ६ जना क्षयरोगका बिरामी रहेका उनले जानकारी दिए ।

सिन्धुलीमा १५ वर्षभन्दा माथिको उमेर समूहका मानिसलाई बढी क्षयरोग संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालय सिन्धुलीले निःशुल्क उपचार र औषधी सेवा उपलब्ध गराइरहेको उनले बताए ।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म किटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । नियमित क्षयरोगीका बिरामीले उपचार र औषधी सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्