बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको कार्यभार : मन्त्री शर्मा



काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताइन् ।

नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको दायित्व भएको बताइन् ।

२०६३ साल असोज ७ गते ताप्लेजुङ्को घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्मानमा हरेक वर्षको असोज ७ गते हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्ने गरिएको छ । यो वर्ष रुकुमका महेश केसी र धादिङकालाई सो पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कृत पत्रकारहरुले तयार पारेका रुकुमपूर्वको सिस्ने गाउँपालिकाको जनजीवन र धादिङ राजमार्ग क्षेत्रको रिपोर्ट हेरेपछि मन्त्री शर्माले राजनीतिक र सामाजिक क्षेत्रमा अकल्पनीय परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसक्नु ठूलो चुनौतीको विषय भएको बताइन् ।

‘राजनीतिक परिवर्तनको सैद्धान्तिक पुष्टि भइसकेको छ, यसको व्यवहारिक पुष्टिका लागि जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने छ’– मन्त्री शर्माले भनिन्– ‘संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेसम्मकै उत्कृष्ट व्यवस्था त हो तर लामो समयसम्म जनताको जीवनमा परिवर्तन ल्याउन सकिएन भने व्यवस्थाको गुनगान मात्र गाएर परिवर्तन बचाउन सकिदैन, यसमा सरकार गम्भीर छ र सबै पक्ष गम्भीर बन्नु आवश्यक छ ।’

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र पनि जोखिमपूर्ण संघर्षबाटै प्राप्त भएकाले यो उपलब्धिलाई स्थापित गरेर लैजानुपर्ने बताइन् ।

राजनीतिक परिवर्तनपछि दुर्गम क्षेत्रका व्यक्ति राजनीतिक क्षेत्रको उच्च ओहदामा पुगे पनि त्यस क्षेत्रका जनताको जीवनमा परिवर्तन नआएको भन्दै अब राज्य, मिडियालगायत सबैको ध्यान जनताको जीवनस्तर परिवर्तनमै केन्द्रित गर्नुपर्ने बताइन् ।
उनले राजनीति, मिडियालगायतका क्षेत्रमा धेरैको विश्वासभन्दा आशंका बढेको उल्लेख गर्दै भनीन् – ‘हरेक क्षेत्रमा राम्रो काम गर्नेहरु किनारामा र नराम्रो काम गर्नेहरु सतहमा हावी हुँदा विश्वासभन्दा आशंका बढिरहेको छ । अब सकारात्मक पक्षलाई सतहमा र नकारात्मक पक्षलाई किनारामा पुर्याउनुपर्ने आवश्यकता देखिएको छ, यसमा मिडिया क्षेत्रको विशेष भूमिका आवश्यक छ । । ’
आम सञ्चार क्षेत्रको सुधारका लागि विभिन्न कानुनको मस्यौदा भइरहेको जानकारी दिंदै उनले आम सञ्चार तथा सूचना प्रविधि क्षेत्रका समस्या कानुनबाटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक सञ्जाल नियमन निर्देशिका मस्यौदा गरेर सहमतिका लागि अर्थमन्त्रालय पठाइएको र चाँडै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिंदै मन्त्री शर्माले साइबर सुरक्षा नीति पारित गरेको र सूचना प्रविधिका क्षेत्रमा विभिन्न कानुन मस्यौदाको क्रममा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्