सभामुख घिमिरे स्वदेश फिर्ता



काठमाडौं ।

सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।आइतबार उनले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फकिएका हुन् ।

स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट भएको बताए ।

भेटमा आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको उनले जानकारी दिए ।

भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधिलगायतको सहयोगबारे, एकअर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताए ।

उनले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तनलगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताए ।

उनले भने, ‘हामी १ गतेदेखि ५ गतेसम्मको आयारल्याण्डका प्रतिनिधि सभाका सभामुख निमन्त्रणामा औपचारिक भ्रमण पूरा गरेर आएका छौँ ।

यहाँबाट प्रतिनिधि सभाका अन्य सदस्यहरूलाई लैजान पाएको भए राम्रो हुने थियो । तर अब विभिन्न कारणले गर्दा हामी छरितो टिमको रूपबाट गयौँ ।’ आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट भएको उनले बताए ।

त्यस्तै, तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेलसँग शिष्टाचार भेट, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायनसँग भेटभएको उनले बताए।

सोही क्रममा आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि भेट भएको उनले जानकारी दिए । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेय, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्