जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल



काठमाडौँ। 
राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन्  ।  गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उनले योगले ‘स्वस्थ मन’ बनाउने छ भने ।

, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनावबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ  ”  उनले भने।   चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे ।

उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने छ भने । आफूले थोरै प्राणायाम गर्दा पनि त्यो महसुस गरेको उनको भनाइ थियो ।

धन दौलत कमाएर, लोभ गरेर, आशक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखी बनाएको जनाउँदै उनले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिए ।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम सुरुआत गरिएको जानकारी दिए । यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उनले बताए ।

उनले अपराध नियन्त्रण तथा सेवा दिने काम हुँदाहुँदै गृहअन्तर्गतका निकायले आफ्नो कार्य क्षेत्रमा कामलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि योगलाई प्राथमिकता दिएको जानकारी दिए । उनले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा अफिस समयको सुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको बताए । सुशासन अभियानका लागि पनि योग र ध्यानको अभ्यास जरुरी रहेको उनले बताए ।

समारोहमा नेपाली सेनाका प्रधान सेनापति  प्रभुराम शर्मा,गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्