एमबीबीएस/नर्सिङ पढाइ शुल्क निर्धारण गर्ने तयारीमा बागमती

0
Shares

हेटौँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य क्षेत्रको शिक्षा अत्यन्तै महँगो भएको भन्दै प्रदेश सरकारले प्रदेशभित्रका स्वास्थ्य क्षेत्रको एमबीबीएस तथा नर्सिङ पढाइ हुने कलेजको शुल्क निर्धारण गर्ने बताएका छन् ।

युवा परिषद्को आयोजनामा हेटौंडामा प्रदेश युवा स्वयम्सेवकहरुको पुनर्ताजगी तालिममा मुख्यमन्त्री  जम्कट्टेलको यस्तो भनाइ आएको हो । मुख्यमन्त्री जम्कट्टेलले अत्यन्त महँगो शुल्क तिरेर डाक्टर तथा नर्स बन्नुपर्ने बाध्यताका कारण उनीहरु लगानी उठाउनैका लागि पनि विदेश जानुपर्ने बाध्यता सिर्जना भएको भन्दै प्रदेश सरकारले शुल्क घटाउने तयारी गरेको बताएका हुन्  ।

‘डाक्टर पढ्न घरबार नै बेच्नुपर्ने, नर्स बन्न बिसौँ लाख खर्च गर्नुपर्ने पनि हुन्छ र,’ उनले भने–जथाभावी शुल्क लिएर कलेजहरुले डाक्टर र नर्स पढेकालाई अनिवार्यरुपमा विदेश जाऊ भनेर प्रमाणपत्र दिइरहेका छन् । यसले देशको स्वास्थ्य क्षेत्रलाई गम्भीर असर पुगिरहेको छ । यस्तो अवस्था रोक्न अब प्रदेश सरकारले सुहाउँदो शुल्क निर्धारण गर्ने तयारी गरेको उनको कथन रहेको हो ।

उनले प्रदेशका युवालाई प्राविधिक शिक्षामा जोड दिन अनुरोधसमेत गरे । युवामा रहेको स्वयम्सेवकीय भावनालाई कायम गर्दै प्रदेशको विकासमा योगदानका लागि उनले युवालाई अनुरोध गरे ।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले युवालाई कृषिक्षेत्रमा तालिम र रोजगारी दिइने बताए । हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवालाई स्वदेशमा नै टिकाउने काम गरिने उनले स्पष्ट पारे ।

प्रदेशलाई सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन लागिएको बताउँदै उनले भने–समुदायमा आधारित कृषि उत्पादनमा जोड दिंदा  अनुदान पनि दिने र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं । अब कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी दिइने बताएका  उनले उत्पादन बृद्धिका लागि कृषि र पशु प्राविधिकको महत्त्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयम्सेवकका लागि सकेको सहयोग गर्ने बताए । युवा स्वयम्सेवकले स्थानीयतहसँग  समन्वय गरेर काम गरिरहेकोमा आफू खुशी रहेको बताउँदै उनले स्वयम्सेवकले त्यहीअनुसार काम गर्नुपर्ने बताए ।
प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्त्वपूर्ण रुपमा गरेकोमा धन्यबाद व्यक्त गरे । युवाहरुलाई राज्यले के दियो भन्दा पनि राज्यका लागि के दियौं भन्ने उद्धेश्यसाथ स्वयम्सेवकहरुले काम गरेको उनको दाबी छ ।