राष्ट्रपति पौडेल पद पाएकोले सरकारप्रति कृतज्ञ हुनुहुन्छ : अध्यक्ष ओली



काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे । राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्विकार गरेको उनको भनाई थियो ।

शुक्रबार पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको दोहोर्‍याए ।

फागुन १ गते माओवादी विद्रोहको सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो लिएको बताए ।

अध्यक्ष ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए । उनले सरकारले अपराध कर्ममा लागेकाहरुको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्