बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, १० जना घाइते

0
Shares

काठमाडौं ।

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ ।

 जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदी युवकको मृत्यु भएको बाँकेका  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार झडपमा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। झडपमा परेर अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय भुक्तान गरिरहेका कपिलवस्तु रुद्रपुरका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको हो।

झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परेर गम्भीर घाइते भएकाहरूको शिक्षण अस्पताल नेपालगन्जमै उपचार भइरहेको छ।

झडपको कारण खुलेको छैन। बाल सुधार गृहभित्रको अवस्था अहिले पनि तनावपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ। केही दिनअघि लागूऔषध मुद्दाका केही बालकलाई सुधारगृहमा ल्याइएपछि त्यहाँ विगतदेखि बस्दै आएकाहरुले असन्तुष्टि जनाउँदै आएका थिए।

यहि विषयमा गएराति दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको हो। गएको माघमा पनि बाँकेको बाल सुधारगृहमा दुई पक्षबीच झडप, आगजनी र तोडफोड भएको थियो। झडपमा संलग्न २५ जना कैदीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ।