चोरीको मोटरसाइकलसहित काठमाडौँबाट एकजना पक्राउ

0
Shares

काठमाडौँ।

चोरीको मोटरसाइकलसहित काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

 सोलुखुम्बुको महाकुम्भ गाउँपालिका १ घर भई हाल काठमाडौँको मैतीदेवी बस्ने सुशील कुमार राईले गत साउन १२ गते काठमाडौँको मैतीदेवी स्थित मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२९ प १८५३ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२२ प २५५६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकल सहित फेला पारी दक्षिणढोकाबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त मालिगाउँ पठाइएको छ ।