शिक्षक आन्दोलनले ७१ हजार विद्यार्थी प्रभावित

0
Shares

धादिङ । 

प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलनमा गएपछि ७१ हजार विद्यार्थी प्रभावित भएका छन् ।

विद्यालयका शिक्षकहरुले फेसबुकमा सूचना गरेर विद्यालय बन्द भएको उल्लेख गरी असोज ४ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । शिक्षक, प्रधानाध्यापकले गाउँपालिका र विद्यालय व्यवस्थापन समितिलाई समेत खबर नगरी एकल सूचनाको आधारमा विद्यालय बन्द गरेको गल्छी गाउँपालिकाका अभिभावक आचार्यले बताएका छन् ।

धादिङमा आधारभूत ३ सय ८८ विद्यालय र माध्यमिक १ सय ३७ सामुदायिक विद्यालयका  ३६ हजार ३ सय ८८ छात्रा र ३४ हजार ९ सय ५१ छात्र गरी ७१ हजार ३ सय ३९ जना विद्यार्थी शिक्षक आन्दोलनका कारण पढाइबाट वञ्चित भएका छन् ।

धादिङ जिल्लामा माध्यमिक तहमा २ सय ७६, उच्च माध्यमिक तहमा १ सय, निम्न माध्यमिक तहमा ४ सय १ र  प्राथमिक तहमा १ हजार ८ सय ४७ जना गरी २ हजार ६ सय २४ जना शिक्षकहरु कार्यरत रहेको शिक्षा विकास तथा समन्वय ईकाइका सूचना अधिकारी कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालय बन्दपछि विद्यार्थी केही विद्यालय गएर फर्किएका छन् भने घरबसेका विद्यार्थी किन बन्द भएको भन्ने सूचना समेत नपाएको बताएका छन् ।
गल्छी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पेमा दोर्जेले शुक्रबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन गर्दै  अन्यथा कारबाही हुने उल्लेख गरेका छन् ।