महासंघले गरायो सरकारको ध्यानाकर्षण

पत्रकार तिमल्सिनालाई मार्ने धम्की



काठमाडौँ।

समाचारको विषयलाई लिएर महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका संवाददाता मोतिराम तिमल्सिनालाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारको ध्यानाकर्षण गराएको हो।

नेपाल समाचारपत्र दैनिकको भाद्र २९ गते शुक्रबारको अंकमा ‘मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ ले काभ्रे कांग्रेसमा खैलाबैला’ शीर्षक समाचार प्रकाशित भएपछि आफूलाई बागमती प्रदेशका मन्त्री तीर्थ लामाका समर्थक बताउनेहरूले पत्रकार तिमल्सिनालाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट समेत बदनाम गर्नेजस्ता हर्कत गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका थिए।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने प्रावधान छ’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यसलाई बेवास्ता गर्दै पत्रकारलाई ज्यानको धम्की दिनु र सामाजिक सञ्जालबाट बदनाम गरिनु अत्यन्त निन्दनीय र स्वतन्त्र पत्रकारिताविरुद्धको काम हो।’

महासंघले प्रेस स्वतन्त्रताविरोधी यो घटनालाई गम्भीर रूपमा लिन र दोषी पहिचान गरी कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ। साथै, संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गरी यस्ता हर्कत दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्