युद्ध अपराधका दोषीलाई उन्मुक्ति नदिन शान्ति समाजको माग

0
Shares

बुटवल ।

मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय अध्यक्ष गोबिन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाहरु भएको प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्  ।

अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने अध्यक्ष खनालले चेतावनीद दिए। अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आयोजना र स्थानीय संघसंस्थाको सहयोगमा विभिन्न संघसंस्थाले रुपन्देहीको सैनामैनामा प्रदर्शन गरेका छन् । जिल्लाको सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शान्तिको अपील गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनका सहभागीहरुले ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन’,‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाऊ’,‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ’,‘सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संक्रमणकालीन न्यायलाई निश्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने उनले बताए ।

विश्वमा दीगो शान्ति कायम गर्न मुलुकमा विद्यमान गरिबी,बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने अध्यक्ष खनालको जिकिर थियो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेल, रामापुर माविका अध्यक्ष विष्णु पाण्डे,नेपाल जेसीसका पुर्व उपाध्यक्ष विमल ज्ञवाली,दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोखरेल, पत्रकार हरिष ढकाल,पुजा ढकाल लगायतले विश्वमा शन्ति कायम गर्न युवाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए  ।