फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा



काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ । सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूकाो माफी मिनाहा रोकिएको हो ।

त्यस्तै, राष्ट्रपतिको कार्यालयले ६७० कैदीकै भुक्तानी गर्न बाँकी कैद सजाय मिनाहा गरेको छ । सरकारले गरेको निर्णयअनुसार कानुनको अधीनमा रही जेष्ठ नागरिक, चरित्र सुधारलगायतका आधारमा ६ सय ७० कैदीहरूको असोज ३ देखि लागु हुनेगरी बाँकी कैद सजाय मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अदालतबाट सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरूको सजाय मिनाहाका लागि गृहमन्त्रालयले सिफारिस गरेकाहरूको हकमा केही निर्णय नभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अदालतबाट सजाय तोकिएर कैद भुक्तानी नगरी फरार रहेका अभियुक्तहरूलाई सरकारले आम माफीको सिफारिस गरेको विषयमा नेपाल समाचारपत्रले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्