देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति



काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ । पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।

देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् । उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् । मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । ‘गत साउन २ को केन्द्रीय समितिमा उहाँहरूले राखेका धारणाले नै हामीसँगै रहेको पुष्टि गर्छ’, उहाँले भन्नुभयो– ‘रूपान्तरणको अभियान जो जुन भूमिकामा छन् उनीहरू नै रूपान्तरण हुनुपर्छ भन्ने हो त्यसमा उहाँहरूको एकमत छ । प्रविधिक हिसाबले बैठकमा भौतिक उपस्थिति हुन मात्रै सक्नुभएन ।’

मंगलबारको बैठकको निचोड बोकेर बुधबार डा. शेखर कोइराला पार्टी सभापति देउवा निवास धुम्बाराही पुग्नुभएको थियो । नेता कोइरालाले सभापति देउवालाई भेटेर देशको समग्र अवस्था र पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि जनाउनुभएको भेटमा सहभागी नेताहरूले बताएका छन् । भेटमा कोइरालाले सभापतिसँगलाई देशको आर्थिक राजनीतिक, सामाजिक परिस्थिति अत्यन्तै खतरनाक मोडमा पुगेको सुझाउँदै पार्टी र सरकारसमेत यसमा गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराउनुभएको नेता आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो । नेता कोइरालाको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्था अत्यन्तै खतरामा छ । राष्ट्रियताको सवालमा गम्भीर संकटहरू आएका छन् । यो स्थितिमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने छ र सरकारको भूमिका पनि बदलिनुपर्छ । गुटगत राजनीतिबाट माथि उठेर राष्ट्रियताको सवाल र पार्टी एकताको सन्देश दिने सवालमा नेतृत्वले सोच्नुपर्ने वेला भएको छ ।’ नेता कोइरालाको सवालमा सभापति देउवाले परम्परागत शैलीमा सबैलाई मिलाएर लैजाने जवाफ दिएको आचार्यको भनाइ छ ।

पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई कोइरालाले चेतावनीसमेत दिएको बताइएको छ । मंगलबार आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेडअनुसार कोइरालाले बुधबार बिहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरुङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुग्नुभएको थियो ।

पार्टीलाई विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेको भन्दै संस्थापनइतरका नेताहरूले ध्यानाकर्षण गराउँदै आएका छन् । प्रदेशमा सरकार निर्माण र मन्त्री पठाउँदा एकलौटी गरेकोदेखि भ्रातृ संगठनहरूको नेतृत्व प्रदान गर्दासमेत देउवाले आफू निकटकालाई मात्रै जिम्मेवारी दिँदै आउनुभएको छ । त्यस्तै, पार्टीका महत्वपूर्ण विभागहरूमा समेत इतर समूहलाई बाइपास गरेको शेखर–गगन समूहले गुनासो गर्दै आएका छन् ।

नेतृत्वको गलत निर्णयले कोशी प्रदेशमा कांग्रेसको शिर निहुरिएको समेत सभापति देउवाको ध्यानाकर्षण गराएको छ । ०७८ को १४औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका अधिकांश नेताहरूसहित देउवा समूहबाट महामन्त्री पराजित प्रदीप पौडेल र प्रकाशमान सिंह समूहबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा एक ठाउँ हुँदा शक्ति सन्तुलनका हिसाबले देउवा समूह विस्तारै कमजोर हुँदै जाने र आगामी १५औं महाधिवेशनमा शेखर–गगन समूहलाई बलियो बनाउन सकिने रणनीतिमा नेताहरू अहिलेबाटै रणनीतिक अभ्यासमा छन् । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्