संविधान दिवसमा एमाले गण्डकीको “सञ्चारकर्मीसँग नेकपा (एमाले) ” कार्यक्रम



पोखरा। 

संविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले  बुधवार  “सञ्चारकर्मीसँग नेकपा (एमाले) “कार्यक्रम  सम्पन्न गरेको  छ।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले  संविधानप्रति वितृष्णा फैलाउने तत्त्वको  सक्रियता बढेको भन्दै व्यवस्थालाई नै असफल बनाउन हुने हर षडयन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उल्लेख  गरे ।संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानले व्यवस्था गरेका आधारभूत अधिकारको पूर्ण प्रत्याभूति जनतालाई दिलाउनु पर्ने उनले बताए।

संविधानका सम्पूर्ण अधिकारको निर्बाध प्रयोग गर्दै नागरिकहरू पनि राज्यप्रति जिम्मेवार र जबाफदेही हुनु पर्ने विष्टको भनाइ थियो।

नेपालको संविधान धेरै दृष्टिकोणले उत्कृष्ट भएको भन्दै संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र  सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्ने  उनले बताए।अहिले नै संविधान संशोधनको विषय निरर्थक भएको  विष्टले बताए  ।

पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको भन्दै अब दृढतापूर्वक संविधान कार्यान्वयनमा लाग्नु पर्ने बताए  ।

त्यसैगरी स्थायी कमिटी सदस्य खगराज अधिकारीले  संविधान निर्माणका क्रममा देखिएका कमि कमजोरी हटाउदै अगाडि बढ्नुपर्ने भन्दै संविधान धेरै ठूलो बलिदानले आएको उल्लेख गरे ।

संविधान क्रमशः सबल बनाउनुपर्ने अधिकारीको  भनाइ थियो।संविधानको कार्यान्वयन गर्ने पात्रहरूका कमजोरीहरू सुधार्नु पर्ने भन्दै अधिकारीले सुशासन कायम गर्न वर्तमान संविधान सबल भएको बताए।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न   कार्यक्रमको संचालन  प्रदेश कमिटीका   उप- सचिव  एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले गरेकी थिइन् ।

कास्कीका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आम सञ्चार विधेयक , गण्डकीको पत्रकारिता ,संचारकर्मीका समस्या र समाधानका लागि  एमालेले खेल्न सक्ने भूमिकाको बारेमा छलफल भएको गण्डकी प्रदेश प्रचार तथा प्रसार विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्