१७ बुँदे मागसहित आन्दोलनमा उत्रिए सरकारी शिक्षक [तस्बिरसहित]



काठमाडौं ।

१७ बुँदे माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरी काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। मार्च पास गर्दै शिक्षकहरू त्यहाँ भन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।  देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्