रामेछाप कारागारका ३ जना कैदीको कैद मिनाहा



रामेछाप । रामेछाप कारागारमा कैद भुक्तान गरिहरेका तीन जना कैदीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा विभिन्न मुद्दामा कैद भुक्तान गरी रहेका तीन जना कैदीको कैद मिनाहा भएको रामेछाप कारागारले जनाएको छ ।

४० देखि ५० प्रतिशत कैद सजाय भोगिसकेकाहरूको सजाय मिनाहा भएको हो । कैद मिनाहा हुनेहरूमा सर्लाहीका राजेशचन्द्र सिंह, रामेछाप नगरपालिका–३ का दिलकुमार तामाङ र सुनापति गाउँपालिका–३ का सोमबहादुर तामाङ रहेका छन् ।

चोरी तथा कुटपिट मुद्दामा जेल परेका उनीहरूको ५० प्रतिशत कैद भुक्तान गरिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।

असल आचरण र व्यवहारका आधारमा जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरमा उनीहरूलाई कैद सजाय तोकेको मिति अगावै जेल मुक्त गरिएको कारागार प्रमुख तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्