युवा पलायनको प्रभाव



नेपालमा रेमिट्यान्स बढेकोमा उत्साहप्रद हुने कि हरेक दिन हजारौं नेपाली विदेशिएकोमा दुखित हुने ? यो प्रश्न अहिले नेपाली अर्थ सामाजिक कोणका हिसाबले सबैभन्दा महत्व राख्ने प्रश्न हो । चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन मासिक गणनामा हालसम्मकै उच्च हो । ३३ महिनापछि चालू खाता पनि बचतमा जानुले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो हुँदै गएको संकेत गरेको छ । झट्ट हेर्दा उत्साहप्रद देखिने यस विषयको अर्को पाटोबाट हेर्दा भने विचारणीय रहेको छ । नेपालका युवाहरू विदेश पलायन हुने लर्को झनै बढ्दो छ । यसले गर्दा देशभित्र युवाशक्तिको झन्–झन् अभाव हुन थालेको छ । गाउँका गाउँ रित्तिएका छन् । गाउँमा विकसित हुँदै गएका कृषि सहकारी, पशुपालन, तरकारी खेतीलगायत कृषि व्यवसाय संकटग्रस्त हुन थालेका छन् । विदेशी मुद्रा शोधनान्तर स्थिति धान्ने ठूलो स्रोत सिद्ध भएको वैदेशिक रोजगारी अब निकै नाजुक राष्ट्रिय समस्या बन्न पुगेको छ । युवाहरूको विदेश आकर्षण पूरै रोक्न सम्भव नभए पनि बेरोजगारले गर्दा विदेशिने युवावर्गलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने नसोच्ने हो भने यो समस्या आर्थिक हिसाबले मात्र नभई सामाजिक हिसाबले पनि झन् कहाली लाग्दो हुँदै जानेछ ।

पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडीमुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । गत आर्थिक वर्षमात्रै यसरी विदेशिनेको संख्या झन्डै ८ लाख पुगेको छ । तीमध्ये कतिपय मानव तस्करीको जालोमा फस्छन् र जीउधन दुवै गुमाउँछन् । विदेशमा ऊर्जाशील युवाको निर्यात हाम्रो हितमा छैन, नेपाली युवाको हितमा छैन । वैदेशिक रोजगारीबाट आर्जित विदेशी मुद्रा सुविधाभोगी वर्गको मोजमस्तीको साधन भएको छ । रोजगारीमा जाने कसैले बजारमा सिमेन्टको एउटा घर ठड्याएको होला, तर उसको सामाजिक र पारिवारिक जीवन विशृङ्खलित भएको छ, भविष्य असुरक्षित भएको छ ।

आमा–बुबाको निधन हुँदा पनि विदेश गएका छोराछोरी कहिले नेपाल आउने हुन् र अन्तिम संस्कार गरौँला भन्ने स्थिति भइसकेको छ । हालै निधन भएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोराहरु नेपाल आई नपुगेको हुँदा दाह संस्कारको लागि दुई दिन पर्खिनुप¥यो । नेपाली राजनीतिज्ञका उच्च ओहोदामा पुगेका नेताहरुले आफ्ना सन्ततिहरुलाई नेपालमै बसेर केही गर्न प्रेरणा दिन नसकिरहेको पनि यसले उजागर गरेको छ । यस्तो अवस्था नेपालका लागि सामान्य भइसकेको छ । हाम्रा सामाजिक जीवनको परिर्वतन भइरहेको यो एउटा ज्वलन्त उदाहरण हो । सक्रिय काम गर्ने उमेर, जाँगर र सीपयुक्त जनशक्तिको अभावमा अब मुलुकले चाहेको वा गर्न खोजेको आर्थिक–सामाजिक विकासको सम्भावना दिनानुदिन क्षीण हुँदै गएको छ ।

जनशक्तिको अभावमा विकास निर्माणका आयोजना एवम् औद्योगिकीकरणका लागि जनशक्ति नपाइने, श्रमबजारमा आपूर्ति कम भएका कारण बढ्ने ज्यालादरले उत्पादन र आयोजना कार्यान्वयन लागत बढाउने अनि विदेशबाट पठाएको रेमिट्यान्सले बढाएको उपभोगले आयातमात्रै बढाइरहने आर्थिक दुश्चक्र सतहमै देखिएका प्रत्यक्ष चुनौतीहरू हुन् । त्यसैले रमिट्यान्स बढेकोमा मात्र खुशी हुन सक्ने स्थिति छैन । विकासको माग गर्ने सशक्त आवाज, विकासलाई कार्यरूप दिने मस्तिष्क, विकासको प्रतिफल उपभोग गर्ने सक्रिय उमेरको जनसंख्याको अनुपस्थितिमा मुलुकको वर्तमान विकास र भविष्यको बाटो दुवै अन्धकारको भुमरीमा छन् । यस प्रवृत्तिलाई नउल्ट्याई मुलुकको विकासको गफ गर्नु निरर्थक साबित हुने स्पष्ट भइसकेको छ । अतः रेमिट्यान्सले मात्र देशलाई सधैँ धान्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्