बरु गोली ठोक, तर सत्य लेख्न छाड्दिनँ

376
Shares

काभ्रे । पत्रकारितामा क्रियाशील भएको दुई दशक नाघेको छ । नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा आबद्ध भएको एक दशक नाघेको छ । कामना प्रकाशन समूहका सहप्रकाशनहरु न्युज अफ नेपाल, कामना, साधनालगायतका सञ्चारमाध्यममा पनि नियमित आबद्धता कायम नै छ । मैले जानेको पत्रकारिताले मलाई निडरताका साथ सत्य लेख्न सिकाएको छ । सत्य लेख्दा कसैले कुनै धम्की दिन्छ भने म त्यसको परवाह गर्दिनँ किनकि सत्यलेखन मेरो धर्म हो । कोही अधर्र्मीको धम्कीले मलाई विचलित पार्ने छैन ।

पछिल्ला समय सुन तस्करी र नागरिकता बिक्रीका विरुद्ध निरन्तर समाचार लेख्दै आइरहेको छु । यसै क्रममा ‘मलद्वारको सुनले प्रदेश मन्त्री संकटमा’ भन्ने समाचार प्रकाशित भएपछि अत्तालिएकाहरुले निरन्तर ज्यानको धम्की दिने काम गरिरहेका छन् । तर नागरिकता बिक्री र सुन तस्करीलगायतका प्रकरणका समाचार लेखेको अभियोगमा तिमीहरुले दिएको धम्कीले किमार्थ मेरो कलम रोक्न सक्दैनौं । मेरो कलम भाँचौला, कलम समाउने हात भाँचौला, गोली ठोकौला तर तिमीहरुका कुकर्म र अपराधका विरुद्ध सत्य, तथ्य लेख्न छाड्दिनँ । प्रमाणका आधारमा लेख्न पत्रकारिताले सिकाएको यो मेरो आत्मविश्वास हो ।

गलत शैली र प्रवृत्तिका विरुद्ध एक थोपा रगत र एक मुठी सास रहुञ्जेल लडिरहनेछु । सत्य र तथ्य समाचारप्रति विल्कुल विचलित हुनेछैन । तथ्यबाट प्रश्न उठेपछि समाचार नलेख्नु मेरो पत्रकारिता हैन र त्यस्तो पत्रकारिता गर्दिनँ पनि । बरु सत्यको पक्षमा एक्लो रहँु, सास रहुन्जेल कलम बन्द हुँदैन ।

हामी कस्तो राज्य संयन्त्र र समाजको निर्माण गर्दै छौं ? राज्यका मन्त्री सुन तस्करीमा संलग्न भएको तथ्य फेला परेपछि त्यसको छानविन गर्नुअगावै धम्की दिन कार्यकर्ता उर्ताछन् । कानुनी शासनमा गोली ठोक्ने धम्की दिने कार्यकर्ता उत्पादन गर्ने मन्त्री र पार्टी सभापति तीर्थ लामा कसका नाइके हुन्, प्रश्न उठेको छ । व्यक्तिगत रुपमा उहाँसँग मेरो कुनै साइनो सम्बन्ध छैन । उहाँ लोकतान्त्रिक भनिएका दलका जिल्ला सभापति हुनुहुन्छ । राज्यको तलब खाने प्रदेशका मन्त्रीमाथि प्रश्न उठ्नु, उहाँका कार्यकर्ता समातिँदा उहाँ जोडिनु र बरामद भएका चेक र अन्य प्रमाणबाट उहाँको संलग्नता देखिएपछि समाचार लेख्नु अपराध हो ? समाचार आएपछि त्यसका बारेमा अनुसन्धान गर्न सहज गर्ने, कानुनी निकायमा छानविनका लागि अनुरोध गर्ने र त्यति बेलासम्म हस्तक्षेप नहोस् भन्ने उद्देश्यले जिम्मेवारीबाट अलग हुने हो कि धम्की दिँदै हिँड्ने ? तपाईं राम्रो बन्नुहोस्, असल बन्नुहोस्, असल संस्कारमार्फत जिल्लाको विकास गर्नुहोस्, तपार्इंलाई प्रश्न गर्ने ठाउँ नै हुँदैन । गलत शैली र प्रवृत्तिका विरुद्ध एक थोपा रगत र एक मुठी सास रहुञ्जेल लडिरहने छु । सत्य र तथ्य समाचारप्रति विल्कुल विचलित हुने छैन । तथ्यबाट प्रश्न उठेपछि समाचार नलेख्नु मेरो पत्रकारिता हैन र त्यस्तो पत्रकारिता गर्दिनँ पनि ।

जिल्लामा पत्रकारसँग सम्बन्धित च्याउसरी, एक पत्रकार एक संस्था खुलेका छन् । खुलेआम एउटा सञ्चारकर्मीलाई मार्ने धम्की आउँदा चुँसम्म गर्दैनन् । यस्ता संस्थाहरुको नेतृत्व गर्ने सञ्चारकर्मी नै हुन् ? भन्ने प्रश्न उठेको छ । मान्छे म¥यो भन्ने चिन्ता हैन, प्रवृत्ति मौलायो भन्ने हो । आज कोही नेतृत्वमा होला, भोलि कोही आउँला । ती संस्थाले खेल्नुपर्ने भूमिका के हो ? स्वतन्त्र भनिएका संस्थाहरु पार्टीका अझ व्यक्तिका खल्तीका हुन् ? सञ्चारकर्मीलाई धम्की दिन लगाउने पनि सञ्चारकर्मी नै ? सञ्चारकर्मीविरुद्ध पनि सञ्चारकर्मी नै ? एक लिटर तेल माग्दै नेताका ढोकाढोकामा चहार्ने सञ्चारकर्मीले पनि मलद्वारमै भेटिएको सुनको अंश पाएका छन् कि ? नत्र किन बोल्न सकिरहेका छैनन् ? यसको समीक्षा पनि समयले गर्ला । गुनासो छैन । सत्य र तथ्य लेख्न एक्लै काफी छ । सूर्य र चन्द्रमा एक्लाएक्लै हुन्छन् । सूर्यको तेज रोक्ने साहस कसैले गरेको छ भने त्यो मूर्ख हो । अझ महामूर्ख हो ।

सुन प्रकरणमा संलग्न भरिया पक्राउ परेपछि नेपाली कांग्रेसका केही कार्यकर्ता फरार छन् । पक्राउ परेका पनि दुई जना नेपाली कांग्रेसकै हुन् । उनीहरुलाई मलद्वारमा सुन ल्याउँदै गरेको अवस्थाबाट पक्राउ गरिएको हो । यो तथ्य लुकाउन भाउजूको घरदैलोमा पुगेर, सञ्ञ्ंचारमाध्यमका डेक्सडेक्समा पुगेर बिटा फाल्दैमा सत्य र तथ्य छोपिन्छ ? समाचार गलत भए कानुनी उपचार खोज । त्यहीं प्रमाण पेस गरौंला । सामाजिक सञ्जाल, व्यक्तिगत म्यासेन्जर, एसएमएसमार्फत दिएका धम्कीले तिम्रो संलग्नता नभएको भन्दा पनि अपराध भएको थप पुष्टि गराउँछ । कानुन छ र कानुनी शासन भएको अनुभूति हुन्छ भने धम्की दिनेहरुलाई कारबाही हुनेछ । उजुरी गरिएको छ । करिब १ सय ५० भन्दा धेरैको प्रमाण प्रहरी कार्यालयमा बुझाइएको छ । गणतन्त्रमा गठबन्धनको सरकारले चलाएको राज्य प्रशासनबाटै प्रेस र प्रेस जगत् असुरक्षित हुनुपर्ने हो ? अझ गठबन्धनमै भएका दलका सञ्चारकर्मी त्यसको मतियार बन्नु जायज हुन सक्छ ? यसको समीक्षा समयले गर्नेछ । बरु सत्यको पक्षमा एक्लो रहँु, सास रहुन्जेल कलम बन्द हुँदैन । चेतना भया ।