घर बनाउनुपूर्व वास्तु मिलाउन जरुरी



काठमाडौं ।

घर बनाउनुपूर्व वास्तु मिलाउन अत्यन्तै जरुरी रहेको विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय वास्तु समितिका अध्यक्ष तथा वास्तुविद् माधवमंगल जोशीले बताउनुभएको छ । सोमबार वास्तु दिवसको उपलक्ष्यमा पेन्सन वासना होटल डिल्लीबजार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

‘वास्तु सबै ठाउँमा एकैनाशको हुँदैन । उचाइका आधारमा वास्तु हेर्नुपर्छ’, वास्तुविद् जोशी भन्नुहुन्छ– ‘सामान्यतया, तराईमा गर्मी बढी हुने भएकाले दक्षिणतर्फ फर्काएर घर बनाउन हुँदैन । हिमाली क्षेत्रमा दक्षिण फर्काउँदा राम्रो हुन्छ । गर्मी ठाउँलाई चिसो कसरी बनाउने र चिसो ठाउँलाई गर्मी कसरी बनाउने कुरामा ध्यान दिनुपर्छ ।’ सकारात्मक ऊर्जालाई घरभित्र ल्याउन र नकारात्मकतालाई घरबाहिर निकाल्न वास्तुअनुसार घर बनाउनुपर्ने उहाँको तर्क थियो ।

घर बनाउँदा माटो कस्तो राख्ने, ढुंगा कत्रो आकारको राख्ने, जग्गा कस्तो छनोट गर्ने लगायतका बारेमा पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष तथा प्राध्यापक श्रीकृष्ण अधिकारीले प्रस्ट पार्नुभएको थियो । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले भने कस्तो स्थानमा घर बनाउँदा के–कस्तो प्रभाव पर्छ भन्ने बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै, विश्व ज्योतिष महासंघ केन्द्रीय समितिका अध्यक्ष लोकराज पौडेलले ज्योतिष वास्तुका बारेमा सभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्