पत्रकार तिमल्सिनाको ज्यानको रक्षा गर्न आग्रह



काठमाडौं ।

नेपाल समाचारपत्र दैनिकका काभ्रे जिल्ला संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार, सञ्चारकर्मी मोतीराम तिमल्सिनालाई हत्या गर्ने धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कामना शाखाले आपत्ति जनाएको छ ।

महासंघले व्यक्ति हत्या गर्ने धम्की दिने नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि कारवाही गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले व्यक्ति हत्याको धम्की दिने अराजक समूहमाथि निगरानी राख्न र समाचारपत्रकर्मी तिमल्सिनाको ज्यानको सुरक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले कुनै पनि विषयमा असमति भए त्यसको खण्डन गर्न तथा सम्बन्धित निकायमा गएर कानुनी उपचार खोज्ने बाटो बिर्सिएर ज्यानको धम्की दिने कार्य प्रेस स्वतन्त्रताविरोधी हर्कत भएको र कानुनी शासनको उपहास भएको ठहर गर्दै त्यस्ता तत्वलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग आग्रह गरेको छ ।

कामना न्युज पब्लिकेसन्स प्रालिले पनि मलद्वारमा लुकाएर ल्याएको सुनको समाचारका विषयमा नेपाली कांग्रेस काभ्रेका सभापति तथा प्रदेश मन्त्री तीर्थ लामाले पठाएको खण्डनमा न्युज अफ नेपालमा लामाको आफ्नो संलग्नता नरहेको दाबीबाहेक अन्य वाक्यांश र विषय असावधानीवश प्रकाशित हुन गएको स्पष्ट पारेको छ । पब्लिकेसन्सले न्युज अफ नेपालमा लामाले पठाएको खण्डन प्रकाशित गर्दा असावधानीवश परेका केही वाक्यांशले रिपोर्टर तिमल्सिनालाई पु¥याएको चोटप्रति क्षमायाचना गरेको छ ।

पब्लिकेसन्सले आफ्ना रिपोर्टर तिमल्सिनाले लेख्नुभएको समाचारको सत्यताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल समाचारपत्रको सहप्रकासन न्युज अफ नेपालमा सुन तस्करीको विषयमा छापिएको समाचारप्रति पनि कामना न्युज पब्लिकेसन्स प्रालि विश्वस्त र प्रतिबद्ध रहेको पनि आम पाठकलाई जानकारी गराएको छ ।

कामना न्युज पव्लिकेसन्सले तस्करीमा संलग्न रहेकाहरुलाई जोगाउने नाममा अहिले केही समूहले असावधानीवश छापिएको खण्डनलाई आधार बनाएर अनर्गल प्रचार गरिरहेकाले त्यस्ता खालका दुश्प्रचारबाट सचेत रहन सबैलाई आग्रह गर्दै पत्रकार तिमल्सिनालाई हत्या गर्नेसम्मको धम्की दिने समूहमाथि कारवाही अघि बढाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्