सम्भोता भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी सुरु 



काठमाडौँ। 

भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आयोजना गरेको सम्भोता भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला  शुक्रबार देखि  सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन शुक्रबार  शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री  प्रमीला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा  सिक्किम भारतबाट आएका  क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।  दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रदर्शन गरी  सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए ।

 कार्यक्रममा बोल्दै   राज्यमन्त्री प्रमीला कुमारीले  कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन् । उनले  नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको बताइन् ।  जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे  । उनले  नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको स्पष्ट पारे ।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट एवं  बौद्धधर्म अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो। इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बर २०२३ सम्म खुला रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्