साइप्रस पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ



काठमाडौँ।

वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भइ हाल ललितपुरको मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

साइप्रस जान १५ लाख ६५ हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु, मासिक एक लाख ५० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेर श्रेष्ठले ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटकपटक गरी ७ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागबाट श्रेष्ठलाई पक्राउ गराइदिन पत्राचार भएका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोली उनलाई मंगलबजारबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्