डा. ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’



काठमाडौँ। 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार अनावरण भएको हो ।

जीवन–सम्बन्ध, संस्कार, पारिवारिक सम्बन्ध, आमाबुबाको हेरचाह, जीवन संघर्ष, सफलता र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ । ‘जीवन्त सम्बन्ध’ पुस्तक असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने छ ।

सम्बन्धहरूको गहिराईलाई केलाउँदै व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायतका विषयमाथि केन्द्रित रहेर लेखिएको उक्त पुस्तकलाई ‘डा. ओम फाउन्डेसन’ले प्रकाशन गरेको हो ।

मानिसको सोचमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने कुरालाई लेखकले अत्यन्तै मिहिन ढंगले समेटेका छन् ।

 

पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्ध वृद्धाका निम्ति फाउन्डेसनमार्फत खर्च हुनेछ । आवरण पृष्ठ अनावरणसँगै पुस्तकको अनलाइन बुकिङ पनि खुलेको छ । दराज, ई–सेवा, हाम्रो पात्रोलगायतका अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ ।

काठमाडौैं उपत्यकाभित्र अनलाइनमार्फत् अर्डर गर्ने पाठकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था छ । देशभरका पुस्तक पसलहरूमा भने समीक्षा पब्लिकेसनले वितरण गर्ने छ । साथै विभिन्न सुपर स्टोर एवम् कपी सप तथा क्याफे आउटलेटहरूमा समेत यो पुस्तक उपलब्ध हुने छ ।

५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठको यस पुस्तकको मूल्य ६००  रुपियाँ रहेको छ । यद्यपि, स्पेसल प्रिन्टिङ तथा लेखकको साइन एवम् गिफ्ट प्याकसमेत रहेको पुस्तकको मूल्य चाहिँ १ हजार रुपियाँ राखिएको छ ।

 

स्वस्थ जीवनशैली, जनचेतनाका लागि डा. ओम मूर्ति अनिलले सुरु गरेको अभियानमा आम नेपालीको सदैव सल्लाह, सुझाव र सहयोग रहँदै आएको छ । पुस्तकबाट एक रुपियाँ पनि प्रतिफल नलिने गरी लेखकले आफ्नो तन, मन र धनकोे लगानी गरेका छन् । उनको लगानीसँगै हरेक पाठकले पनि लगानी गर्ने छन्।   त्यो लगानी सिधै असाहय नागरिकका निम्ति खर्च हुनेछ ।

सामाजिक रूपान्तरणका लागि चालिएको नयाँ कदममा पनि सबैको साथ, सहयोग, सद्भाव र सुझाव प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस्