राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ



काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँलाई पशुपति आर्यघाटमा छोराहरू मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएर अन्तिम विदाई गरेलगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएर राजकीय सम्मान अर्पण गरेको थियो ।

गृह मन्त्रालयका अनुसार उहाँलाई १७ तोपको सलामी दिईएको छ । त्यसका लागि सेनाको सानो ब्याण्ड र गुल्म खटाइनुका साथै सेनानीलाई स्कर्टपति तोकिएको थियो । नेम्वाङको पार्थिव शरीरलाई आठ जना सैनिकले काँध हालेका थिए । आर्यघाटमा सेनाको टुकडीले सलामी दिएको हो । शवयात्रामा नेपाली सेनाको ब्यान्ड टोली संलग्न थियो ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो । सुरुमा परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपश्चात् पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।

नेपाली राजनीतिमा शालीन र भद्र नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा पशुपतिको वागमती किनार क्षेत्र भीडले खचाखच थियो । शवयात्रामा पूर्व प्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालका साथै एमालेसहित कांग्रेस, माओवादीलगायत संसद्मा सहभागी सबैजसो दलका नेता तथा कार्यकर्ता, उच्चपदस्थ सरकारी पदाधिकारीहरू, शुभेच्छुक, आफन्त र सर्वसाधारणको सहभागिता थियो ।

काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका नेम्वाङको गत मंगलबार निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरको मुन्धुम संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्