खानेपानी श्रोत क्षमता वृद्धिसँगै महसुलमा कटौती

0
Shares

नवलपरासी ।

घनश्याम बगाले । नवलपरासी एक सय त्रियासी लिटर प्रति सेकेन्ड श्रोत क्षमताको रहेको कावासोती खानेपानीले आफ्नो २३ ओैं वार्षिक  साधरणसभा सम्पन्न गरेको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती नगरका करिब ७ वडामा गुणस्तरीय पिउने पानीको चाँजोपाँजो मिलाई रहेको यो संस्थाले स्थानीय माझ ८ हजार ७ सय २ धारा वितरण गरेको जनाएको छ ।

जसमा निजी धारा ८ हजार ४ सय ८३, सामुदायिक ४६ र संस्थागत धारा १ सय ७३ रहेका छन् । गत वर्ष विपन्नका लागि २० सहित ३ सय २ ओटा धारा जडान गरेको संस्थाले यस आ वमा एक घर एक धाराको नीति अनुसार ३ सय ९० धारा जडानको लक्ष्य लिएको छ । भूमिगत श्रोत ६० र सतह श्रोत ४० प्रतिशत रहेको यस संस्थाका ९ सय घन मिटरका २ वटा ओभरहेड तथा १ हजार २ सय घनमिटर क्षमताको ४ वटा रिजर्भ वायर संचालनमा रहेका छन् ।

साथै यस वर्ष  थप ४ सय ५० घनमिटर क्षमताको ओभरहेड र  २ डिप संचालनमा आउदा ५५ लिटर प्रति सेकेन्ड  क्षमताको श्रोत बृद्धी हुने  कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बुधबार पत्रकार माझ जानकारी दिनु भएको हो । जसबाट नगर क्षेत्रको जनसंख्या बृद्धिको अनुपातमा आगामी १५ वर्षका लागि खानेपानी पर्याप्त हुने लम्सालले बताउनु भयो । संस्थागत मौज्दात रकम ११ करोड,२२ लाख,०६ हजार ३ सय ९८ रूपैयाँ रहेको यस संस्थाले नगर बिकास कोष भुक्तानी दायित्व २ करोड २३ लाख ०४ हजार २ सय १८ रहेको उल्लेख गरेको छ ।

महसुलमा बीस रूपैयाँ कटौती

साधरण सभाले बिगत बर्ष देखि लिदै आएको महशुल दरमा २० रूपैयाँ कटौती गर्ने संस्थाको  निर्णयलाई स्वीकृत  गरेको छ । संस्थाले प्रति दस हजार लिटर पानीको खपतमा ब्यक्तिगत १ सय  २० र सामुदायिक धारामा २ सय २० रूपैयाँ लिदै आएको थियो ।

संस्थाले कुल महशुल भुक्तानीको ३८ प्रतिशत रकम अनलाइन मार्फत प्राप्त गर्दै आएको जनाएको छ । साधारण सभाबाट सेवा क्षेत्रका स्नातक ईन्जिनियरिङ्ग  अध्ययनरत २ बिद्यार्थीलाई जनही एक मुष्ट ५० हजार छात्रवृत्ति दिने, सामुदायिक बिद्यालयका धाराको महशुल रकममा आधा मिनाह गर्ने भएको छ ।

यस्तै संस्थालाई प्रविधि मैत्री बनाउदै जि आई एस सहितको डिजिटल म्यापिङ्ग, ए एम एस तथा एस ओ एम निर्माण गरिने जनाईएको छ । क्यूआर कोड तथा जिपिएसमा आधारितभै घर नम्वरिङ्ग, संरक्षण र सरसफाइलाई जोड दिदै एक वडा एक कार्यक्रम, सेवा क्षेत्रको बिस्तार एवं नगरका २ स्थानमा सर्वशुलभ खाने पानी उपलब्ध गराउने भावी योजना संस्थाले बनाएको छ ।