बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि फेला



काठमाडाैं ।

डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपती मेजर विमल पण्डितको शव फेला परेको छ । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि भेरी नदीमा फेला परेको हो ।

डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा औंठी र घडी लगाएको एक पुरुषको शव फेला परेपछि सेनाको टोली त्यसतर्फ गएको थियो । मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो ।

सेनाले उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा टोली त्यसतर्फ पठाएको थियो । शरीर पानीमै भए पनि कपडा नरहेको अवस्थामा शव भेटिएको स्थानीयले खबर गरेपछि सैनिक टोली त्यहाँ गएको हो ।

प्रतिक्रिया दिनुहोस्