आर्थिक मन्दीको असर : तीजमा पनि बिकेन सुन



काभ्रे ।

बजारमा तिजको रिमझिम बढ्दा पनि  सुन व्यापार भने ह्वात्तै  घटेको छ । गत वर्षको तुलनामा तिज लगायत समग्र व्यापार नै ९० प्रतिशत भन्दा कम भएको व्यवसायीहरुको भनाई छ ।

 काभ्रे सुनचाँदी व्यवसायी संघका  निवर्तमान अध्यक्ष दानकाजी शाक्यका अनुसार पछिल्लो समय काभ्रेमा सुन व्यवसाय धराशायी बन्दै गएको छ । दिनकै एक/डेढ किलो सुन सजिलै बिक्री हुने काभ्रेको बजारमा अहिले महिनामा एक/डेढ किलो मात्र बिक्री भइरहेको छ । पछिल्लो सुन व्यापार घट्नुको मुख्य कारणमा सुन महँगो हुनु, सहकारी संस्थाहरुमा चरम समस्या देखिनु, देशको अर्थतन्त्र डामाडोल हुनु औँल्याइएको छ ।

काभ्रेमा सुनचाँदी व्यवसायी संघमा आबद्ध ९० वटा पसल छन्  । तिजको बेला निकै भिडभाड हुने यी पसलहरुमा अघिल्लो वर्षको तुलनामा अहिले व्यापार निकै खस्केको संघका निवर्तमान अध्यक्ष शाक्य बताउँछन् । काभ्रेमा सुनचाँदी व्यवसायी संघमा आबद्ध नभएका  पलहरु पनि करिब ४० वटा रहेको बताइन्छ ।

सुनचाँदी व्यवसायको सवालमा खरिदको सम्बन्धमा व्यवसायीहरुको गुनासो पनि रहेको छ । सुन खरिद गर्दा बैकले ज्यादै न्यून कमिसन दिने, चाहिएको बेला सुन नदिने जस्ता समस्या व्यवसायीहरूले भोग्नु परेको छ । सुनचादि व्यवसायी संघको सिफारिसमा बैकबाट एक पटकमा दुई किलो सम्म सुन खरिद गर्न पाउने भए पनि चाहिएको बेलामा बैकले सुन नै नदिने गुनासो  व्यवसायीहरुको छ । त्यसमाथि एक किलो सुन खरिदमा ९५ लाख रुपैयाँ  भन्दा बढी लगानी गर्नुपर्ने भए पनि नाफा भने बढीमा ४० हजार सम्म मात्र हुने व्यवसायीहरुको गुनासो छ ।

एक किलो सुनमा ८५ तोला ७३ लाल हुन्छ । राष्ट्र बैकको नियम अनुसार बैकले सुन खरिदकर्तालाई शून्य दशमलव पाँच प्रतिशत नाफा दिनु पर्नेमा त्यसो नगरिएको निवर्तमान अध्यक्ष शाक्य बताउँछन् । बैकमा सुन स्टक भएको समाचार आए पनि बैकले नाफा नदिएको बारे कहिल्यै समाचार आउने  नगरेको उनी बताउँछन् । बैकले १५ दिन सम्म सुन स्टक भए जो कोहीलाई पनि बिक्री गर्न पाउने नियम भएको व्यवसायीको भनाई छ

प्रतिक्रिया दिनुहोस्