काठमाडौं ।
राजधानी काठमाडौं उपत्यकाको सुन्दर पर्यटकीय नगरी जरसिंहपौवामा एक्सपल्स राइडर्स क्लबको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालमा दुईपांग्रे गाडी अर्थात मोटरसाइकल यात्रामार्फत नेपालको पर्यटनमा गरिरहेको योगदानका विषयमा अध्ययन अनुसन्धान गरिरहेका बाइकर कुन्दन श्रेष्ठको अध्यक्षतामा पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल अटो मोबाइल एशोसिएसन (नासा)का कार्यकारी निर्देशक गोविन्द भट्टराई, नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक, नासाका सह–कोषाध्यक्ष कमला क्षेत्री, मोटस स्पोट्र्स क्लबका उपाध्यक्ष आशिष रौनियार, नेपाल टूरिजम फेस्टिभलका कार्यक्रम संयोजक रियाज पौडेल लगायत अतिथी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी रहेका नासाका कार्यकारी निर्देशक गोविन्द्र भट्टराईले राइडर्स क्लबको बाइक टूरिङ कार्यक्रमले नेपालको पर्यटन र खेलकुदको प्रवद्र्धनमा ठूलो सहयोग गरेको बताए । आगामी दिनमा सबै संघ संस्था र निकायहरुको सहकार्यमा काम गर्न आवश्यकता रहेको उनले औल्याए ।
कार्यक्रममा अतिथी रहेका नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेकले नेपालको पर्यटन प्रवद्र्धनमा बाइक टूरिङले ठूलो योगदान दिइरहेको बताए । युवा राइडर्सको प्रयासले नेपालका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक चहलपहल पुर्याउन योगदान रहेको भन्दै आगामी दिनमा पर्यटन बोर्ड, पर्यटन क्षेत्रका संघ संस्थाहरुले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।
जरसिंहपौवाको हिल भिजन रिसोर्टमा शनिबार सम्पन्न पहिलो साधारणसभाले कुन्दन श्रेष्ठकै अध्यक्षतामा रहेको पदाधिकारीलाई दुईतिहाई बहुमतले पारित गरेको छ । क्लबको उपाध्यक्षमा शान्तहरि आचार्य, सचिवमा किरण बज्राचार्य र कोषाध्यक्ष सुवर्ण श्रेष्ठ रहेका छन् । कार्यक्रममा एक्सपल्स बाइक चलाउने ४० जना राइडर्सको सहभागिता रहेको थियो ।
प्रतिक्रिया