व्यक्ति र घरका समस्यामा नवदुर्गा सहकारी सुत्केरीलाई एम्बुलेन्स, जेष्ठ नागरिकलाई सुरक्षा भत्ता

0
Shares

पनौती । 
सहकारीहरूमा समस्या बढिरहेको, सहकारीहरूले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नसकेर भागिरहेका समाचार सार्वजनिक भइरहेको पछिल्लो अवस्थामा सहकारी समुदायको अब्बल र प्रमुख आर्थिक कारोबारको विश्वासिलो संस्था रहेको नवदुर्गा सहकारीले स्थापित गरेको छ ।
जिल्लाको पनौती नगरपालिकामा केन्द्र बनाएर ८ वटा पालिकाका ८ हजार ७ सय ६० जना शेयर सदस्यहरूलाई निःशुल्क एसएमएस मोबाइल बैकिङ सेवाका साथै प्रविधि मैत्री दुई वटा आफ्नै भवनबाट २१ जना कर्मचारीहरूले ८ वटा सेवा केन्द्र र २६ ओटा बचत संकलन केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ ।
संस्थाका अध्यक्ष ईन्द्रप्रसाद हुमागाईँले संस्थाले विगतदेखि सुरु गरेका सामाजिक उत्तरदायित्वका कार्यहरूलाई समेत निरन्तरता दिएको बताए । २१ वर्ष अघि २०५९ पौष २६ गते ग्रामीण क्षेत्रमा स्थापना भएको उक्त संस्था ५ वटा बचत तथा ऋण, ३ अटा कृषि सहकारी र २ ओटा बहुउद्देश्यीय सहकारी गरी १० वटा सहकारी बिच एकीकरण गरी सञ्चालन भइरहेको छ । नेपालमा  सहकारी एकीकरण निर्देशिका २०६९ आउनु भन्दा पहिले सहकारी ऐनको अधिनमा रही एकीकरणको प्रारम्भ काभ्रेमा २०६८ श्रावण ८ गते उक्त सहकारीले गरेको थियो ।
सोही क्रमलाई निरन्तरता दिँदै जाने र अझै मजबुत र सहकारीको पहुँच नपुगेको क्षेत्रमा सहकारीको उपस्थिति गराउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत दीपक तिमल्सिनाले बताए ।  नवदुर्गा बचत तथा ऋण सहकारी संस्था पनौती, बनेपा, धुलिखेल, पाँचखाल, नमोवुद्ध, मण्डनदेउपुर, बेथानचोक र खानि खोलामा क्रियाशील छ । संस्थाले शेयर सदस्यहरूका लागि सुत्केरी एम्बुलेन्स खर्च ३४ जनालाई उपलब्ध गराएको छ ।
सदस्य तथा पारिवारिक राहात २९ जनाले पाएका छन् भने ५५ जनाले १० हजारको दरले स्वास्थ्य उपचार खर्च प्राप्त गरेका छन् । ७० वर्ष भन्दा माथिका ८८ जना जेष्ठ शेयर सदस्यहरूलाई वार्षिक पोषण खर्च स्वरूप ६ सयका दरले रकम उपलब्ध गराइएको छ । उक्त रकम शेयर सदस्यहरूको खातामा जम्मा गरिदिने व्यवस्था गरिएको छ । कृषकहरूका लागि रासायनिक मल बिक्री वितरण, विविध सम्मान कार्यक्रमहरू गर्दै आएको छ ।
पर्याप्त ऋण सुरक्षणका लागि धितो तथा धन जमानीमा ऋण लगानी गर्ने गरिए अनुसार ऋण सुरक्षण कोषको व्यवस्था गर्ने गरिएको कोषाध्यक्ष हरिरानायण श्रेष्ठले बताए ।  आर्थिक वर्षको अन्त्यसम्म ८४ करोड ४७ लाख रहेको छ भने त्यस्तै शेयर पुँजी ९ करोड १५ लाख, बचत ६१ करोड ११ लाख, विभिन्न कोषहरू ६ करोड ६१ लाख, ऋण लगानी ७० करोड ६९ लाख रुपैयाँ २ हजार २ सय ८५ सदस्यलाई लगानी गरिएको छ ।
संस्थाले ८ प्रतिशत देखी १६ प्रतिशत सम्मको ब्याजदरमा लगानी गरेको छ भने बैंक तथा तरलतामा १० करोड ६३ लाख रुपैयाँ जम्मा गरेको छ । ५९ प्रतिशत महिला सदस्य रहेको नवदुर्गा साकोसले ६७ लाख ९७ हजार ३ सय ५४ रुपैयाँ आय कर बुझाएको छ । आर्थिक कारोबार मात्र नभई जन्मदेखि मृत्यु पर्यन्त सेवा, सदस्य शिक्षा, वित्तीय साक्षरता, सदस्यहरूको नेतृत्व विकासका विविध कार्यक्रमहरू, प्रविधि साक्षरता, विविध सास्कृतीक तथा धार्मिक कार्यक्रमहरू, विभिन्न सामाजिक कार्यहरू, सरसफाइ, जनचेतनामूलक कार्यक्रमहरू, वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम, सदस्य विमाका कार्यक्रम, स्थानीय तहसँग समन्वय गरी विकास निमार्णका कार्यहरू, उपभोक्ता समितिलाई योजना सम्पन्न गर्नका लागि आर्थिक वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा सचिव अकुरप्रसाद सापकोटाले संस्थाले उपलब्ध गरेका प्रगति प्रतिवेदनहरू प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरिनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रमेश राजलवटले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष हुमागाईँले संस्थाले बदलिँदो परिस्थिति र परिवेशमा संस्थाका शेयर सदस्यहरूलाई आर्थिक उपार्जन हुने खालका कार्यक्रम गरिने बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष योगमाया आचार्य लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए ।