छक्का प्रहारकर्ता कुशल र सोमपाललाई नगद



काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका दुई नेपाली क्रिकेटर कुशल भुर्तेल र सोमपाल कामीलाई दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।

फाउन्डेसनले एसिसी एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरिएको हो । भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।

कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्