साहित्य महोत्सव तयारी समितिमा नाम थपेकोप्रति अध्यक्ष लम्सालले असहमति


काठमाडौं ।

नेपाली कांग्रेसका संस्थापक सभापति एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा पार्टीले आयोजना गर्न लागेको साहित्य महोत्सव तयारी समितिमा नाम थपेकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले असहमति जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै विना सल्लाह पछिल्लो पटक सो समितिमा सदस्य बनाईको भन्दै लम्सालले उक्त सदस्य अस्वीकार गरेका हुन् ।

वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा पहिलो पटक गर्न लागेको साहित्य महोत्सवलाई प्रभावकारी तयारीका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा तयारी समितिसमेत गठन गरेको थियो ।

उक्त तयारी समितिमा विभिन्न पटक सदस्यहरूको नाम थप्ने क्रम जारी छ । यसैक्रममा बुधबार पनि ११ जनाको नाम थपिएको छ । अध्यक्ष लम्सालले आफूले सो पद अस्वीकार गर्दै विना सल्लाह नाम थपेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

पछिल्लोपटक सदस्यहरू थप गर्दा आफूसँग कुनै सल्लाह नै नगरी नाम राखिएको उहाँको भनाइ छ । ‘वीपी साहित्य महोत्सव आयोजना गर्नु राम्रो काम भएको तर तयारी समितिमा आफ्नो नाम राख्दा कुनै छलफल नभएकाले आफू सो तयारी समितिमा नरहेको जानकारी गराउछु’, उनले भनेका छन् ।