रुपन्देहीका माओवादी कार्यकर्ताले नेतालाई भने पार्टी छ, नेता हराए

0
Shares

बुटवल ।

घर घरमा माओवादी, जनजनमा माओवादी नारासहित तीन महिने विशेष रूपान्तरण अभियान लिएर बस्ति बस्तीमा पुग्ने क्रममा रुपन्देहीको कन्चनको सुन्दर टोल पुगेका माओवादी नेतासँग पार्टी कार्यकर्ता र स्थानीयले गाउँमा माओवादी नेता हराएको गुनासो गरेका छन् ।

जनयुद्धको उभार सहित आएर देशकै पहिलो दल बनिसकेको र कैयौँ पटक सरकारमा सहभागी भैसकेको, अहिले पनि देशको नेतृत्व गरिरहेको मुलुकको तेस्रो ठुलो दल माओवादीका नेताहरू गाउँबाट किन गायब भए ? अधिकांशले यही प्रश्न तेर्साय ।गाउँबाट नेता हराए पनि पार्टी नहराएको तर्क गर्दै स्थानीय विजय शर्माले लोभी पापी र भ्रष्टहरूले पार्टी छाडे पनि आफूहरूले जगबाटै नयाँ ढंगले पार्टी निर्माण गरिरहेको बताउनुभयो ।

पार्टीसंगठनमा काम गर्दागर्दै आर्थिक अभावले २०७० सालमा मलेसिया गएर त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किदा गाउँबाट पार्टी हराइसकेको उनले दुखेसो पोखे । केही अगुवा भन्नेहरू अन्य पार्टी प्रवेश गरेर आन्दोलनमाथि खिसीट्युरी गर्दै हिडेको गुनासो समेत पोखे । तर म मा विचलन आएन ।

निर्भीकताका साथ पार्टी निर्माणमा लगियो, अहिले परिस्थिति बदलिएको छ । यसरी हँसिया हथौडा अङ्कित झन्डा देख्दा मनमा ऊर्जा आउँछ अनि आँखामा खुसीका आशु । आक्रोश, आवेग र आँखामा आशुसहित एकै सासमा उनले गाउँको सबै कहानी सुनाए। त्यसै गरी अर्का स्थानीय कार्यकर्ता निर्मला थापाले आफू गुल्मीको ठुलो लुम्पेकमा हुँदादेखि नै पार्टीमा जोडिएको तर बसाइसराइ गरेर कन्चन आएपछि पार्टीमा जोडिन मुस्किल भएको बताइन।

श्रीमान् आर्मीमा हुँदा समेत हामी माओवादी बनियो। हिजो श्रीमान् सहित एकातिर आर्मी र अर्कोतिर माओवादी हुँदा हामीले माओवादी रोज्यौँ। परिवारलाई कन्भेन्सन गर्‍यौँ र पार्टीमा होमियौँ तर आज त्यही पार्टीमा जोडिन र जनताको काम गर्न हामीलाई सहज छैन। चुनावै पिच्छे नेता फेरिने, चुनाव लडेको नेता चुनाव सकिएको दिनदेखि गाउँमा नदेखिने, यस्तो अवस्थामा छाती फुलाएर माओवादी हौँ भन्न कसरी सकिन्छ ? के तपाईँहरू हाम्रो यो पिडा महसुस गर्न सक्नुहुन्छ ? महसुस मात्रै गर्न सक्नुहुन्छ भने पार्टी यही छ, पार्टी बन्छ ।

निर्मलाले रुदैं आफ्नो दुखेसो बताउनु भयो । निर्मला थापा आफू मात्रै रोइनन, उनी बोल्दै गर्दा पार्टी नेता गणेशमान पुन लगायतका अतिथि समेतले आँखाको आशु पुछिरहे। पार्टीको रिपोर्ट गर्दै अर्का स्थानीय चित्रराज चालिसेले केन्द्रमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरिरहेको भ्रष्टाचार विरोधी अभियान र स्थानीय तहमा आफ्नो पार्टीबाट विजयी गाउँपालिका उपाध्यक्ष मौसमी थापाले जनस्तरमा गरिरहेको कामले आफूहरूलाई उत्साहित बनाएको बताए।

देशको मूल समस्या भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा केन्द्रीय सरकार र नागरिकका दैनिक जीवनसँग जोडिएका प्रशासनिक तथा विकास निर्माणका काममा पालिका उपाध्यक्ष मौसमी थापाले लिएको पहलले स्थानीयहरूले माओवादीले अवसर पाए देश र जनताको पक्षमा काम गर्ने रहेछ भनेर आफूलाई सुनाउन थालेको उनको भनाई थियो ।

कार्यक्रममा केन्द्रीय नेता सहित सहभागी भएका नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कार्यक्रममा आफूले अपेक्षा नै नगरेको उपस्थिति देखिएको भन्दै आश्चार्य व्यक्त गर्नु भयो । नेता कार्यकर्ताको गुनासो र सुझाव सुनिसकेपछि पार्टी स्थायी समिति सदस्य गणेशमान पुनले आफूले जनयुद्धका सुरुवाती दिनहरूको स्मरण गरेको बताउनु भयो । वृद्ध आमाको सपना नै हाम्रो सपना हो र अहिले यो आम जनताको सपना हो उहाँले भन्नु भयो ।

उहाँले हामी हाम्रो सपनालाई मर्न दिन्नौँ, परिस्थिति फरक होला, लडाइको स्वरूप बदलिएको होला, तर अहिले पनि समुन्नत राष्ट्र निर्माण गर्दै समाजवादमा पुग्ने लडाई जारी रहेको केवल रूप मात्रै बदलिएको खुलासा गर्नु भयो ।रूपान्तरण अभियानले हराएका नेता खोज्ने र नयाँ नेता जन्माउने दुवै काम एकसाथ गर्ने उल्लेख गर्दै नेता पुनले समाजवादको नेपाली बाटोको खोजी गर्दा पार्टी केही समय अलमलिए जस्तो देखिए पनि अब त्यस्तो नहुने तर्क गर्नु भयो । नेता पुनसँगै सहभागी माओवादी नेताहरू ठाकुर कुमार विक, निर्मल जिसी, दीपिका शर्मा लगायतको समूहले स्थानीय आमा समूह लगायतसँग समेत अन्तरक्रिया गरेका थिए ।