बनेपामा १२१ वर्षदेखि निरन्तर कन्या पूजा (तस्वीरसहित)

0
Shares

काभ्रे । 

बनेपा-व्यापारिक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्ण अष्टमीको अवसरमा कन्याहरू पुजिएका छन् । १ सय २१ वर्ष अघि सुरु भएको ऐतिहासिक बृहत् कन्या पूजा बनेपामा सम्पन्न भएको हो ।

कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको अध्यक्ष राम गोपाल कायश्थले जानकारी दिए । बनेपामा भएको कन्या पूजामा प्रति कन्या पाँच सय रुपियाँ बराबरका सामाग्री उपलब्ध गराइएको थियो । ९ हजार कन्याका लागि बनेपामामात्रै करोड खर्च भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष सामूहिक कन्या पूजा गरिएको थिएन । सनातन कन्या पूजा प्रबन्ध समितिको बैठकले अघिल्लो वर्षबाट कन्या पूजा सञ्चालन गर्ने निर्णय गरे पछि पूजा व्यवस्थापन गरिएको अध्यक्ष राम गोपाल कायस्थले बताए ।

तत्कालीन सनातन कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपाल सिं मुस्याजुको निधन पछि समितिको बैठकले अध्यक्षमा राम गोपाल कायस्थलाई मनोनीत गरेको थियो । कन्या पूजा भव्य रुपमा सञ्चालन गर्न र कन्याहरूलाई पूजा तथा प्रसाद वितरण गर्न भक्तजनहरूलाई समितिले अनुरोध गरेको थियो । समितिको निमन्त्रणाका आधारमा ७५ भन्दा धेरै भक्तजनहरू विभिन्न प्रकारका सामाग्री सहित कन्या पूजामा सहभागी भएका थिए ।

अविवाहित तथा रजस्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले सुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो ।

बनेपाको भोलाखाटोलबाट सुरु भएको बृहत् कन्या पूजाको सुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुटसहित पूजा गरिन्छ ।  सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइएको छ ।

भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन भएको सचिव वैद्यले जानकारी दिए । निःशुल्क गरिएको कन्यापूजाका लागि प्रबन्ध समितिको करिब २० लाख खर्च भएको कोषाध्यक्ष दिनेश कायश्थले बताए ।

दाताहरूले दिएको केही रकम बाहेक अन्य खर्च समितिका पदाधिकारीहरूले नै ब्यहोर्दै आएको वैद्यले जानकारी दिए । जात्राको व्यवस्थापन गर्न अक्षयकोषको स्थापना गरी थप रकम संकलन गरिएको समितिका सदस्य प्रकाश कायस्थले बताए । ‘समितिको पहलमा शुरुमा १३ लाखको अक्षयकोषमा केही रकम थप गरिएको छ’ –कायस्थले भने –‘केही दिन अघि देखि ३०÷४० जना मजदुरहरूद्वारा ९० हजार स्वारी, ९ हजार मालपुवा पकाइएको थियो ।’

एउटी कन्याले ५ वटा स्वारी, एउटा मालपुवा लगायतका सामाग्रीहरु पाएका छन् भने अन्य दाताहरुले उपलब्ध गराएका सामाग्री पनि कन्यालाई उपलब्ध गराइएको छ । कन्याहरूलाई पूजा गर्दा सुस्वास्थ्य, सुभमङ्गल र सुखमय जीवनको कामना गरिएको छ । बनेपा आसपास ७ गाउँबाट कन्याहरू पूजामा सहभागी भएका थिए ।

कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिल्ने, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ । बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका स्थानमा पनि कन्या पूजा गरिएको छ ।