सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको भेट

0
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेट गरेका छन् ।  सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।सभामुख घिमिरेले  उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्‍याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।

लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे ।  लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको सभामुख घिमिरेको भनाइ थियो । सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले गर्दा नेपालका हिमालहरु पग्लिरहेको बताउँदै अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । हामी दुई देशका संसदमात्रै जनताजनतामा सम्बन्ध स्थापित गर्न चाहन्छौं,’ उनले भने । नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिने धारणा राखे । एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ उनले भने, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।