सिंगटीको पीडा : तपतपे ढुङ्गाको त्रास

0
Shares

दोलखा। 

बस्तीमाथिको ढुङ्गा बग्न थालेपछि दोलखाको उत्तरी सिंगटी खोलिखिम बजारका ७८ भन्दा बढी घरधुरी उच्च जोखिममा परेको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर– ४ माईथानमा रहेको तपतपे ढुङ्गा बग्न थालेपछि सिंगटीको खोलिखिम बजार जोखिममा परेको हो ।

गतबर्षबाटै तपतपे ढुङ्गामा हलचल सुरु भएपनि केही दिनको अविरल बर्षाले गत भदौ ९ गते रातिबाट आसपासको माटो बगेपछि तपतपे ढुङ्गा झन्डै १५ मिटर सरेको स्थानीयले बताएका छन् । विगु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोग र समन्वयमा उक्त ढुङ्गालाई ब्लास्टिङ गरेर हटाउने तयारी गरेको भएपनि प्राविधिक कारणले काममा ढिलाइ भएको र स्थानीय त्रासमा रहनु परेको पालिका प्रमुख सञ्जीव ओलीले बताए ।

विगतमा उक्त ढुङ्गाबाट पानी रसाउने भएकोले स्थानीयले त्यसलाई तपतपे ढुङ्गा भन्न लागेका हुन् । ढुङ्गा आसपास नागदेवता रहेको विश्वासमा स्थानीयले पूजा समेत गर्दै आएका थिए । ढुङ्गा व्यवस्थापनको तयारीको क्रममा स्थानीयले क्षमा पूजा गरेका छन् ।

ढुङ्गा खस्ने त्रास बढेपछि अहिले विगु गाउँपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका बासिन्दालाई अन्यत्र सारिएको पालिका प्रमुख ओलीले बताए । हामी सकेसम्म छिट्टै ढुङ्गालाई ब्लास्टिङ गरेर व्यवस्थापन गर्ने तयारीमा लागेका छौ तर प्राविधिक कारणले काममा ढिलाइ भै रहेको छ– पालिका प्रमुख ओलीले भने   । ढुङ्गा व्यवस्थापन अघिनै दुर्घटना भयो भने ठूलो क्षतिपुग्न सक्ने पालिका प्रमुख ओलीको चिन्ता छ ।

नेपाली सेनाको रेकी

नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंह, सह सेनानी सुजिन जंग शाही, जमदार राम कुमार राई र सिपाही खुम बहादुर डाँगी तथा अर्जुन घिमिरेको प्राविधिक टिमले गरेको रेकीमा उक्त ढुङ्गा भएको ठाँउमा पहिरो गयो भने तीन सय ५० मिटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षतिहुने तथा ढुङ्गाले नदी थुन्यो भने बजारको ७८ वटा घरमा क्षतिपुग्न सक्ने रिर्पोट दिएको पालिका प्रमुख ओलीले बताए ।

अपर तामाकोशी हाइड्रोपावरको अध्ययन 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले समेत उक्त ढुङ्गा बग्न सक्ने अवस्थाको बारेमा अध्ययन गरेको र १८ मिटर लम्बाई, १४ मिटर चौडाइ र ८ मिटर गहिराईको उक्त ढुङ्गा खस्यो भने सिंगटी बजारमा ठूलो क्षति हुनसक्ने रिर्पोट दिएको पालिका प्रमुख ओलीको भनाई छ ।

तत्काल व्यवस्थापन हुन्छ

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले ढुङ्गाले पार्ने क्षतिको बारेमा नेपाली सेनाले रेकी गरेर त्यसको व्यवस्थापनको लागि इन्जिनियर सेनानी प्रभात सिंहको कमान्डमा तारा दल गणको अप्रेसन अधिकृत समेत सहभागी रहने गरी टोली बनिसकेको बताए । ढुङ्गा व्यवस्थापनको लागि ब्लास्टिङको काम समेत गर्नुपर्ने र त्यसको लागि नेपाली सेनाको चिफकै अनुमति आवश्यक भएकोले प्रधानमन्त्री कार्यालय मार्फतनै अनुमतिको प्रक्रिया अघि बढी सकेकोले शनिवार वा आईतवारसम्म मा व्यवस्थापनको काम अघि बढ्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

पूर्वमन्त्री र प्रदेश सांसदको स्थलगत भ्रमण

तपतपे ढुङ्गा खस्न लागेको माईथानमा पूर्वमन्त्री एवं एमाले नेता पार्वत गुरुङ, प्रदेश सांसद भरत बहादुर केसी, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओली, उपप्रमुख देवीका थामी, कालिञ्चोक गाउँपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्रको दोलखा संयोजक कुल बहादुर बुढाथोकी लगायतले शुक्रवार स्थलगत भ्रमण गरी जानकारी लिएका थिए ।

पूर्वमन्त्री गुरुङ र प्रदेश सांसद केसीले सरोकारवाला निकायलाई टेलिफोन सम्पर्क मार्फत ढुङ्गा व्यवस्थापनको कामलाई तत्कालै सुरुगर्न अनुरोध गरेका थिए।   उनीहरुले पहिरोबाट आधा दर्जन घरहरु विस्थापित बनेको विगु गाउँपालिका वडा नम्बर ४ कै ओलीटारको समेत स्थलगत भ्रमण गरेका थिए ।