हाम्रा गल्ती-कमजोरीको आत्मालोचना गर्दै सुध्रिन चहान्छौँ : अध्यक्ष प्रचण्ड

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तीन महिने अभियानको उदघाटन गरेका छन् ।

आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट प्रचण्डले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उदघाटन गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले उक्त अभियानको उदघाटन कार्यक्रममा बोल्दै सरकारले गरेका कामकारबाही जनतासमक्ष पुर्याउन अभियानले विशेष भूमिका निर्वाह गर्ने बताएका छन् ।

जनताका घरदैलोमा पुगेर उनीहरूका कुरा र समस्या सुन्न नेता तथा कार्यकर्तालाई निर्देशन प्रचण्डले दिएका छन् ।

अभियानको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने क्रममा उनले माओवादी र जनतासँगको सम्बन्ध कमजोर भएकाले आफ्ना कमी–कमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन् । जनता समृद्धि चाहन्छन् । जनता सुशासन चाहन्छन् । अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ– नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ । माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ’, निर्देशन दिँदे उनले भने, ‘तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ । सुध्रिन चाहन्छौँ । त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ ।’