सुन तस्करी प्रकरण: सूचना संकलनका लागि अनुसन्धान अधिकृतलाई भारत पठाइयाे



काठमाडौं ।

६१ किलाे सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्ना अनुसन्धान अधिकृतलाई भारत पठाएको छ।

बरामद भएको तस्करीको सुनको गन्तव्य भारत भएको यकिन भएपछि सूचना संकलनका लागि १ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई भारत पठाइएको हो।

सीआईबी स्रोतका अनुसार धर्मराज भण्डारीलाई थप सूचना संकलनका लागि भारत पठाइएको हो। यसअघि यो सुन प्रकरणमा जोडिएका एक व्यक्ति किशोर बस्नेतलाई भारतबाटै पक्राउ गरेर नेपाल ल्याइएको थियो।

भण्डारीभन्दा अघि सीआईबीले एसएसपी दिनेश आचार्यलाई थप सूचना संकलनका लागि भन्दै हङकङ पठाएको थियो। सुन हङकङबाट आएको पुष्टि भएपछि तस्करीबारे थप सूचना संकलनका लागि एसएसपी आचार्यलाई हङकङ पठाइएको हो।

गत साउन २ गते त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सुनसहित केही मान्छेलाई पक्राउ गरेको थियो। राजस्वले आफ्नो अनुसन्धान सकेर थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको थियो।

अहिले यो प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ। अहिलेसम्म यो सुन प्रकरणमा २५ जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्