प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लड्नुस्, सडक मोर्चामा हामी साथ दिन्छौं : विप्लव



सुर्खेत १४ भदौ । समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । तस्बिर : सुरेश आचार्य/रासस

सुर्खेत।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहालले लड्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने उन्को भनाइ थियो ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव चन्दले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए ।

‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ उनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि कारबाही गर्नैपर्ने चन्दको भनाइ थियो ।

उनले मानव तस्करीलाई पनि कारबाही गर्नुपर्ने बताए । वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको चन्दको भनाइ थियो ।

चन्दले प्रधानमन्त्री दाहालविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्