‘कसैको आशीर्वादले पद चाहिँदैन’ 

कांग्रेस सच्चाउने अभियान



हेटौंडा ।

 नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले कुनै नेताको नजिक भएर कुनै पद नलिने उद्घोष गरेका छन् ।
कांग्रेस मकवानपुरभित्र पछिल्लो समय देखिएको घटनाक्रमलाई देखाउँदै उनले यस्तो बताएका हुन् । उनले भने–मलाई पार्टीभित्र कुनै नेताको नजिक बसेर कुनै पदमा पुग्नु छैन, जनप्रतिनिधि बन्नु छैन, कसैको आशीर्वादले कुनै पद चाहिँदैन । आफू कांग्रेस सच्चाउने अभियानमा लागेको भन्दै परिस्थितिले कुनै जिम्मेवारी दिए पछि नहट्ने पनि उनले बताए ।

पार्टीका नेताहरु अब पनि आरोप/प्रत्यारोप, गुट/उपगुटमा रुमल्लिए काग्रेस मकवानपुरको भविष्य अँध्यारोतिर जाने उनले बताए । सबैतिर मतदातमा गलत कुरा पुगेपछि मतदाता कांग्रेसले कांग्रेसलाई हराएको आरोप उनको छ । ‘अब कांग्रेसलाई किन भोट हाल्ने’ भनेर गरिएको दुष्प्रचारले कसलाई फाइदा पुग्यो भन्ने उनको प्रश्न छ । ‘यो नियोजित हो कि अञ्जानको गल्ली हो,’ उनले हेटौँडामा पत्रकार भेटमा गुनासो गरेका हुन् ।

उनले कांग्रेसका नेताहरु पार्टीका विभिन्न पदमा पुगेको, सामाजिक सम्मान र प्रतिष्ठा बढ्नुमा नेपाली कांग्रेस पार्टी भएर भएको बताए । यसलाई मनन् गर्दै विगतको निर्वाचन तथा अन्य विषयले ल्याएको तिक्तता भुलेर नेपाली कांग्रेसका नेताहरु एक ठाउँमा बसी छलफल, आत्मसमीक्षा गर्दै समस्या भए त्यही तहमा सल्ट्याएर पार्टीलाई एकढिक्का बनाउँदै आगामी निर्वाचानमा जिल्लाको तहगत जनप्रतिनिधि कांग्रेसको बनाउन उनले आग्रह गरेका छन् ।

गत निर्वाचनमा गठबन्धनवाट उम्मेद्वारी दिंदा  नेपाली कांग्रेस प्रतिनिधिसभा–१ की उम्मेद्वार महालक्ष्मी डीना उपाध्याय ८ हजार भन्दा बढी मतान्तरणले अगाडि रहेको क्रममा मतगणना हुँदा हेटौंडा बजार क्षेत्र प्रवेशपश्चात मत घट्दै पराजयको परिणाममा आइपुगेको  र प्रतिनिधिसभा क्षेत्र–१ (ख) का कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले पनि पराजय व्यहोर्नु प¥यो । उक्त क्षेत्रमा आनन्दको भन्दा संघीय उम्मेद्वार डीनाको मत ५ हजार भन्दा कम भोट आयो । ‘एउटै पार्टीका उम्मेद्वारबीच यत्रो मतान्तर कसरी आयो ?,’ उनी छक्क परेका छन् ।

चैत ५ गते स्ववियु निर्वाचन भयो । टीयुअन्तर्गत देशभरका क्याम्पसमा एउटै सूचीअनुसारका निर्वाचन भए । निर्वाचनमा सहभागी हुन फागुन १९ गते दर्ताको समयमा नेविसंघ अध्यक्ष सुभास सापकोटाका तर्फबाट क्याम्पसमा नेवि संघ दर्ता गरियो । फागुन २२ गते केन्द्रले नेविसंघ अध्यक्ष भीषण ठकुरीलाई तोकेर पठाएको पत्र लिएर उनी आफू आधिकारिक भएको दाबीसहित निर्वाचनमा गए  ।

निर्वाचनमा गठबन्धन थियो । गठबन्धनका अन्य विद्यार्थी संगठनले नेवि संघमा आन्तरिक समस्या देखाएर भागबण्डामा पछाडि पारेको उनको दाबी छ । ‘केन्द्रले ठकुरीलाई पठाउनुथियो त एक महिनाअघि नै किन नपठाएको ? दर्ताकै मितिमा केन्द्रले किन पत्र दियो ? कसको उत्साहटमा ? विद्यार्थी संगठनमा आक्रमण गरी कमजोर बनाउने नियतले पार्टीलाई कहा“ पु¥याउला ?,’ उनले नेतृत्वप्रति प्रश्नको वर्षा गरे ।

गत निर्वाचनमा कांग्रेसका साथीभाइ वा आफ्नै नातागोतासँग  पनि दुष्मनी लिएर आफ्ना नेतालाई जिताउन दिलोज्यानले लागे । परिणाम नकारात्मक आयो । त्यस्ता वडाका साथीहरुलाई बोलाएर गरिएको गाउँ सम्मेलनमा नेताहरुले आफ्ना भनाइका सम्पूर्ण समय एकापसमा अन्तर्घात गरेको दोषारोपणमा बिताए । ३४ घण्टा हिंडेर  उत्साह र जोशसाथ आएका कार्यकर्तालाई नेताहरुप्रति अन्तर्घाती आरोप/प्रत्यारोप लगाएकोमा उनले चिन्ता जनाए । कार्यक्रमबाट फर्कंदा मलिन अनुहार बनाएर फर्किए । हाल ती कार्यकर्ता शिथिल छन् ।

‘नियत के हो ? संगठन सबै सिद्धिए कहाँ  गएर नेता बन्ने ? यदि त्यसो भएको हो भने पनि पार्टीअन्तर्गत तहगतरुपमा अनुशासन समिति छ । अन्तर्घातको प्रमाण जुटाएर उपयुक्त समितिमा राखेर कारबाही गरे भइहाल्यो नि । अन्तर्घाती भनेर सामाजिक सञ्जालमा विवरण हाल्ने । तर, कारबाही प्रक्रिया केही पनि नगर्ने किन ?,’ महतको अर्को प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्