लोकतन्त्रको फड्को



दुई मुलुकमा लोकतन्त्रले फड्को मार्दै समृद्धिको लहर चलेको छ। बिस्कुटहरू अन्नका मात्र आएका छैनन् सुनका बिस्कुटहरू आयात भएका छन्। त्यो बिस्कुट लोकतान्त्रिक चियामा चोपलेर खानुको छुट्टै मज्जा छ। दलहरू भूमिगत जीवनबाट खुल्ला भइसके। विप्लव दाइसमेत खुल्ला सास फेर्दा टुकुचा खोलाहरू भूमिगत भएको नगरपिताबाट थाहा भएको छ। ती पनि नगरपिताको पहलबाट खुल्ला हुँदैछन्। राणाहरूको निवास रहेको ललितानिवास जनतामा ल्याउन भनी लोकतन्त्रवादीहरूले लोकतान्त्रिक लालपुर्जा आफ्ना नाममा के ल्याएका थिए आँखा लागिहाल्यो।

लोकतन्त्रमा सबैलाई आर्जन गर्ने अधिकार छ, यो प्रतिस्पर्धातन्त्र हो। खरिदारलाई प्राध्यापकभन्दा अर्थसम्पन्न हुने अधिकार रहन्छ। बन्दुक हानेका र दोहोरी रेस्टुरेन्टमा लोकदोहोरी गाइरहेकाहरूलाई प्राज्ञ बन्ने अवसर रहन्छ। टाउकोको मोल तोक्ने र तोकिनेहरूमा मायाप्रीति छ। बुलेटको ब्यालेटस“ग गठजोड छ जो लोकतन्त्रको सुन्दरता हो। कानुनको राजमा दललाई मिलाउने र फुटाउने हैसियत कानुनी क्षेत्रले पाएको छ। यो लोकतन्त्रको सार्थक पक्ष हो, अदालतको दलको मिलान र विभाजन अझ न्यायिक होला। हरेक कुरालाई डो¥याउने राजनीति सबै नीतिहरूको राजकीय नीति हो।

केपी बाले समृद्धिको आवाज रङ्गाए, यति र ओम्नीहरू समृद्धितर्फ मोडिए। गोकर्णमा जङ्गल रहँदा बाँदरले बारीको मकै खाइदिएको हैरानीमा त्यहाँ रिसोर्ट बन्नु समृद्धि नभए अरू के हो ? बाले न्याय क्षेत्रको करामतले बिदा दिए, लोकतन्त्रको उपहारस्वरूप विपक्षीहरू समृद्धिको कुर्सीमा रहँदा सुनका मोटरसाइकल र कमोट भित्रिए। बाको नारा विपक्षीहरूमा पनि यथार्थमा आयो। लोकतन्त्र सत्ताधारी प्रतिपक्षी सबैको हो।

सङ्घीयतामा रुकुम रोल्पाका प्रतिनिधिहरूले पनि सुनको बिस्कुट चाख्नुपर्छ। समावेशिताको युगमा हरेकले सामन्ती सुवर्ण शमशेरको जग्गा भोग्नुपर्छ। सामुदायिक शिक्षा सुधार्नेहरू निजी स्कुलका मालिक बन्नुपर्छ। वीर अस्पताल सुधार्नेले निजी अस्पतालको सेयरधनी हुनुपर्छ। आफ्ना छोराछोरीलाई विदेशमा पढाएर अरूका छोराछोरीलाई बन्दुक बोकाए भन्ने सुनिन्छ। यहाँ समानताकै कुरा छ, आज ती बन्दुक बोक्नेहरू मलेसिया तथा साउदी अरबजस्ता विदेशमै छन्। यताबाट नभए उताबाट पनि लोकतन्त्र समानतातन्त्र हो। नाकाबन्दी, भूकम्प तथा कोभिड कालमा यस्ता अभ्यासहरू प्रशस्तै भए।

लोकतन्त्र गाउ“मा झनै फस्टाएको छ। लोग्नेको रेमिटान्सले ब्वाइफ्रेन्डसित मस्किएको रोमान्स छ। ढुङ्गेधाराअघि उभिएर फ्रुटी खाएको फोटो फेसबुकमा राख्नु वैदेशिक रोजगारीमा गएका बाबुका किशोरी छोरीहरूको आह्लादक क्षण हो। लोकतन्त्रले विदेश गएका श्रीमान्का श्रीमतीहरूलाई प्राकृतिक आवश्यकता पूरा गर्न सहज भएको छ। यो बुहार्तनकोे युग होइन न प्राकृतिक आवश्यकता दबाइराख्ने पञ्चायती युग। सहजताका लागि बाबुआमा र सासू–ससुरालाई वृद्धाश्रमको समकक्षी संसारमा पठाउनु गलत हो ? समानताको युगमा समान पात्रहरू समान स्थानमा रहनलाई लोकतन्त्रले मलजल गरेको छ।

प्रतिक्रिया दिनुहोस्