भाडाको मुख

0
Shares

 गरुडा, रौतहट । “तपाईंको मुख कहाँ बनेको छ ?” बकपत्रका लागि बोलाउँदा कोठाभित्र छिरेपछि बस्न लगाउँदै एकजनाले सोधेको पहिलो प्रश्न थियो। अकमकिएको बुझेर अर्काले प्रश्न तेस्र्याए– “तपाईंको मुख के–केबाट बनेको छ ?” फेरि अर्कोले प्रश्नको ठाडो प्रहार बजायो– “तपाईंले बोलेको मुख आफ्नै हो कि भाडामा लिएको ?” बक्छु– “श्रीमतीको भुँडी सापटी लिएको।” बकपत्र मेरो हो, मलाई केही बक्नै दिइरहेका थिएनन्। प्रश्न आयो– “तपाईंले बक्ने कुरो तपैंकै कि भाडाको ?” फुत्किहाल्यो– “तपैंहरू भाडामा आएपछि मैले भाडामा मुख ल्याउन हुन्न भन्ने छ र ?” बकपत्रकारले संयमको नाटक प्रदर्शन गर्दै रोषपूर्वक जिज्ञाशा थपे– “हामी जिम्मेवारी वहन गर्न आकालाई भाडामा आको देख्ने चस्मा फुकालेर हेर्नुस्, हाम्रो वास्तविकता देख्नुहुन्छ।”

अनि एक जनाले मलाई सोध्ने प्रयास गरे– “भन्नुको मतलब यो हो कि तपाईंले आफैंले देखेको कुरो भन्ने हो कि अरूले भनेको र तपाईंले सुनेको कुरा यहाँ बताउने हो ?” कुरोलाई अर्कैतिर मोड्दै मैले प्रश्न राखें– मैले सबै कुरा झुटो नै बोलें भने के हुन्छ ? अनि, मैले सबै कुरा आफैंले देखे पनि आफूले देखेको जस्तो नबोली अरूले भनेको जस्तो बोलें भने के हुन्छ ?”

फेरि प्रश्न तेर्सियो– अब यताउतिको कुरो छाडेर सोझै विषयवस्तुतिर जाऊँ। घटना तपाईंले आफैंले देखेको हो ?” मैले मौकामा चौका हान्न पाएँ– “तपाईंहरूको आँखाले देखेको होइन। मैले आँखा राम्ररी देख्दिनँ। यसैले आधा मैले र आधा चस्माले देखेको हो।”

अनि बकपत्रकारहरूले बकपत्रको आफ्नो रीति पूरा गरे। सबै नीति, अनीति, थिति, बेथिति हो कि अतिथि सबै कुरा सोधे। मैले पनि जस्तालाई तस्तै ढिडोलाई निस्तै भनेझैं गर्दै गएँ। कतै इँटको जवाफ पत्थरले पनि दिनुप¥यो। मलाई अन्तिममा लाग्यो– बकपत्रकारहरू भिजेको मुसो भएर गए।

म आफ्नो घर फर्कें। दुई छिमेकीबीच झगडा भएको थियो। तगडा झगडा भएका कारण मेरो आँगनमा गाउँ समाज बसेको थियो। पहिले त डर लाग्यो कि म घरमा नभएको बेला के कारणले यत्तिका मानिस जम्मा भएका होलान् भनेर। तर, म त लालबुझक्कड, कुरो चाँडै बुझिहालें। एकातिर वातबहादुर पनि बसिरहेका थिए। बिनाबत्क्यौली बस्नै नसक्ने प्राणी। एक्लै छँदा पनि बोलिरहने। राति निदाए पनि बोलिरहने गज्जबका प्राणी। व्यवहारले उनी थिए झगडाप्रसाद। जहिले नि, जोसित पनि झगडा परिरहने। महिनामा एकाध झगडाको लफडा बढिरहने।

झगडालाई कुनै निहुँ चाहिँदैन, बोल्नलाई कुनै बिउ चाहिँदैन। यो उनकै हकमा लागू हुन्छ। एकछिनपछि सोधपुछ शुरू भयो। नवनिर्वाचित वडाध्यक्षले सोधे– “तपाईंले किन गाली गर्नुभयो ?” वातबहादुर– “मैले बोलेकै छैन, केही भनेकै छैन।”

“अनि झगडा कसरी भयो त ?”
“ऊ आफ्नो मुखले बोल्दैन। उसको मुख फलानोको घरमा बन्छ। उसको बोली फलानाले बनाउँछन्। उसको एक्सन जति फलानीले निर्देशन गर्ने हो। अनि रिमोट कन्ट्रोलवाला डिजेले जस्तै कसैले उसको स्विच अन गरिदिएर कुनै अश्लील गीत लाइदिएजस्तै गरी गरिदिन्छ र ऊ गाउन तथा आफैं नाच्न थाल्छ। ऊ जस्तो भाडाको मुखले म बोल्न सक्दिन”… …।” उसलाई नरोकेको भए सायद अझ के–के भन्थ्यो, भन्थ्यो।
वातबहादुरले जति पनि बोल्न सक्थ्यो । तर, उसलाई रोकेर सोझै दोष उसको झगडियामाथि थप्ने मनसाय भलाद्मीहरूको देखियो।
म भर्खर बाहिरबाट आएको थिएँ। घरभित्र पस्नासाथ पत्नीजीले प्रश्न तेस्र्याइन्– “यो भाडाको मुख कस्तो हुन्छ?”

झनक्क उठेको रिसलाई दमन गर्दै अमनले जवाफ फर्काएँ– “जुन मुखले आफ्नो दुःख–सुखको कुरा गर्दैन, अर्काको विषयमा नानाथरि कुरा गरिरहन्छ। त्यस्तो मुखलाई भाडाको मुख भनिन्छ। र, भाडाको मुख तिमै्रजस्तो हुन्छ, मेरैजस्तो हुन्छ।” म शौचालयमा छिरें। आनन्दले बस्दै सोच्न थालें– जहाँतहीं भाडाकै मुख छ। कतै मेरो मुख पनि भाडाकै छ कि ?