५ वर्षमा सक्नुपर्ने एमसीसी आजदेखि कार्यान्वयनमा



काठमाडौं ।

अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो ।

कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्यसञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबम यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।

यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।

विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् । नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्