यस कारण त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारी मागे सामूहिक सरूवा (नामावलीसहित)



काठमाडाैं ।

गत साउन ३ गते बरामद भएको साढे ६० केजी तस्करी सुनका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु तनावमा परेका छन्।

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्। विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवा मागेका हुन्।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा बिना कारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले कामकारबाही गर्न कठिन भएको कर्मचारीहरूले सार्वजनिक गरेका पत्रमा उल्लेख छ।

घटनामा दोषी जो कोहीलाई कानुनबमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुई मत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्य र जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ, निवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्