अस्पतालबाट फर्केकी उज्जलीले बाटोमै जन्माइन् बच्चा 

 डाक्टर भन्छन् छोरी देखिन्छ भन्ने डरले अप्रेसन गर्नै  मान्दैनन् 



 बाजुरा। 

खप्तड छेडेदह गाउँपालिका वडा नं एक जारिमतोलाकी  ३२ वर्षीया उज्जली सुनारले  सोमबार बिहान बाटोमै बच्चा जन्माइन् । उज्जलीले बाजुराको बूढीगंगा नगरपालिका वडा नं १० स्थित पानीभुंवा भन्ने ठाउँको वीचबाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी बेथाले बेहोस अवस्थामा रहेकी  सुनारलाई  आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र  बूढीगंगा नगरपालिका १० सिंगाडाकी अनमी सिर्जना सार्कीले सुत्केरी गराएकी हुन् ।

 छिमेकी जिल्ला अछामको  वयालपाटा अस्पतालमा अप्रेसन गराउन नमानेर घर फर्किने बेला बाटोमै सुत्केरी बेथा लागेर पल्टेकी रहिछन् ।  अनमी सार्कीले बाटो मै फेला पारिछन् । तुरुन्तै हामीलाई खबर भयो,  आवश्यक उपलब्ध सामाग्री सहित स्वास्थ्यकर्मी परिचालन  गर्दा सुत्केरी आमा र शिशु दुवैको ज्यान बच्यो  बूढीगंगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष दलबहादुर साउँदले भने ।

  “बाटोमा बेहोस अवस्थामा फेला पारेपछि मन थाम्न सकिन । एउटा सामान्य अनमीका लागि  अत्यन्तक्रिटिकल केश थियो । बाटोमा तत्काल विकल्प पनि केही थिएन । तरपनि आमालाई बचाउन पाए पनि हुन्थ्यो भन्ने लाग्यो। आफूसँग भएको सिप प्रयोग गरेँ । आमा छोरी दुबैलाई जीवित उद्धार गर्न पाउँदा खुसी छु । ”साहसी अनमी सार्कीले भनिन्। जुनसुकै बिरामीले पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार चल्नुपर्छ , बयालपाटामा  अप्रेसन गराउन खोज्दा भागेर आइन् धन्य उनको जीवन बाँच्यो उनले भनिन् ।

 अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किनेक्रममा बाटोमै छोरी जन्माइन्  बूढीगंगा स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मीराज जैशीले भने ।  बाटोमा वाईचान्स भेट भएकी उज्जली सार्कीले बच्चा जन्माएको छ घण्टा भैसकेको छ। अहिले रक्तश्राव पनि रोकिएकोछ । आमा र शिशु  दुवैको स्वास्थ्य अवस्था सामान्य छ उहाँको भनाई छ ।  जोखिममा बच्चा जन्माएकी सुत्केरी आमा र शिशु दुवैलाई सेलापाखा  स्वास्थ्य चौकीमा थप उपचार भइरहेको छ । स्वास्थ्यकर्मीकै निगरानीमा राख्न निर्देशन गरेकी छु । सुत्केरी र शिशुमा जटिल अवस्था आए एम्बुलेन्स सहित सबै व्यवस्था नगरपालिकाले गर्छ  बूढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया खड्काले भनिन् ।

  बयालपाटा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर मन्दिप पाठकका अनुसार  गर्भिणी महिला  उज्जली सुनारको आइतबार (हिजो)चेकजाँच गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको थियो । डाक्टरले  अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । उज्जलीले  छ पटक बच्चा जन्माई सकेकि रहिछन् । अप्रशेनन गर्न उनले मानिनन् । औषधी प्रयोग गर्दा पाठेघर फुट्न सक्ने सम्भावना हुन्छ ।  औषधी प्रयोग गर्दा आईसियुु चाहिन्छ ,हामीसँग आइसियुको व्यवस्था छैन । अप्रेसन गर्न उहाँले मान्नु भएन ।  हामी कागत तयार पार्दै थियौँ उनी  कतिवेला निस्किन् पत्तै भएन डाक्टर पाठकको भनाई छ ।  अस्पतालमा अल्ट्रासाउन्ड  गर्दा  उनलाई सुत्केरी बेथा लागेको थिएन।  एक पटक पनि गर्भजाँच नगराउँदा के कसो हो ? हामीलाई पनि थाह भएन डाक्टर पाठकले भने  ।

उहाँले अप्रशन गर्न किन मान्नु भएन  ? काउन्सिलिङ्ग गर्नु भएन भन्ने जिज्ञासामा “प्राय  दुर्गमका महिलामा अप्रेसन गराए छोरी निस्किन्छ  र पछिल्लो गर्भ पनि छोरी नै जन्मिन्छ भन्ने अन्धविश्वास छ । सुत्केरी गराएबापत अस्पतालले एक पैंशा लिदैन , नि:शुल्क गछौं तरपनि  सुत्केरीको अप्रेसन केशमा कन्भेन्स हुँदैनन् ।  त्यसैले प्राय दुर्गमका महिला अप्रेसन गराउन मान्दैनन् डाक्टर पाठकले भने ।

उज्जली सुनारले  यी छोरी लगायत छ छोरीको जन्म दिइसकेकी छन् । चारवटी जीवित छन् भने दुई छोरी बितिसकेकी छन् । उनको छोरा पाउने आसमा ज्यान जोखिममा  राखेर वर्षेनी बच्चा जन्माउन बाध्य छन् वडा अध्यक्ष साउदको भनाई छ।

बाजुराका बाटोमै बच्चा जन्माउने उज्जली सुनार मात्र हैनन् । ग्रामीण  भेगका  दर्जनौँ महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था छ । गाउँ शुलभ स्वास्थ्य सुविधा छैन। सडक सञ्जाल र दक्ष जनशक्तिको अभाव छ।  अझ परम्परागत अन्धविश्वासका कारण  छोरा पाउने रहरले कतिपय महिलाको ज्यान जोखिममा परेको छ।

प्रतिक्रिया दिनुहोस्