आफैँ लुकेर अपहरणको बहाना

0
Shares

हेटौंडा

आफू स्वयम् लुकेर अपहरणको बहाना बनाएको भन्दै प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भदौ ३ गते विहान करिब ११ः३० बजे घरबाट हराइ परिवारसँग  सम्पर्कविहीन भएका भनिएका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा–५ बस्ने वर्ष ४६ का कुमार प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको निर्मल भनिने सानुबाबु रुम्बाबीच आर्थिक लेनदेन रहेको र दुवैबीच विवाद भएकोमा रुम्बाले पतिलाई अपहरण गरेको हुनसक्ने भएकाले पतिको खोजतलास गरिदिन पत्नी आइतीमाया चेपाङले जिल्ल प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएकी  थिइन् ।

प्रजाको खोजतलास तथा गोप्यरुपमा अनुसन्धान गर्दै जाने क्रममा प्रजाकी पत्नी तथा परिवारका अन्य सदस्यहरुसँग  निरन्तर फोन सम्पर्क रहेको खुलेको थियो । प्रजा मकवानपुरको मनहरी गाउँपालिका वडा–४, नयाँ बस्तीस्थित सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकीछिपी बसेको खबर प्राप्त भएपछि इप्रका मनहरीको टोलीले आइतबार विहान करिब ५ बजे उक्त स्थानमा सूर्यबहादुरको घरनजिक रहेको अनुग्रह चर्चभित्र फेला पारेको हो ।

‘तपाईं आफैँ घरबाट निस्की आफैँ लुकीछिपी बसी किन अपहरण भएको भनी अफवाह फैलाउनुभएको हो’ भनी सोधपुछ गर्दा उनले विभिन्न अश्लील शब्द बोलेर प्रहरीसँग  विवाद र अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ । प्रजालाई तत्काल जरुरी पक्राउ पुर्जी दिइ पक्राउ गरी जिप्रका ल्याइएको छ ।

स्थानीय युवा र इलाका प्रहरी कार्यालयले खोजी गर्ने क्रममा बाहिरबाट ताला लगाएको चर्च भवनभित्र लुकेर बसेको अबस्थामा उनलाई फेला पारिएको थियो । इलाका प्रहरी कार्यालय मनहरीले आइतबार उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याएको प्रहरीले पुष्टि गरेको छ ।

छिमेकी रुम्बासँगको व्यक्तिगत लेनदेनको विषयमा मनहरी बजारमा झगडा भएपछि कुमार बेपत्ता भएका थिए । भदौ ४ गते आइतीमायालाई फोन गरी ‘मलाई अपहरण गरेर लगेको छ’ भनेर फोन काटेका  कुमारको खोजीका लागि नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समिति, नेकपा (एकीकृत समाजवादी) राक्सिराङ गाउँ कमिटीलगायतले विज्ञप्ति जारी गरेका थिए । सामान्य लेनदेनको विवादलाई जातीय हिसाबले ढाकछोप गर्न खोजिएको र नाटकीयढंगले अपहरणको मुद्दा  दायर गरिएको भन्दै मनहरीका युवाले घटनाबारे आक्रोश पोख्दै आएका थिए ।