विवादास्पद चुम्बनबाट चर्चामा रहेका रुबियालेस



काठमाडौं । लुइस रुबियालेस अहिलेको अवस्थामा निकै विवादास्पद चर्चा कमाएका व्यक्ति हुन् । स्पेनी फुटबल महासंघका अध्यक्षको चर्चा एक विवादास्पद चुम्बनबाट भएको हो । उनले महिला विश्वकप च्याम्पियन स्पेनकी फरवार्ड जेनी हर्मोसोको ओंठमै चुम्बन गरेका थिए । यो चुम्बन कतिलाई अपाच्य भयो भने कतिलाई सामान्य लागेको थियो ।

रुबियालेसले गत आइतबार विश्वकपको ट्रफी वितरणको समयमा हर्मेसोलाई अंगालो मारेर ओँठमा चुम्बन गरेका थिए । यो व्यवहारले हर्मेसोले अप्ठ्यारो अनुभव गरेकी थिइन् । उनको अनुहार रातो पिरो भएको प्रष्टै देखिएको थियो । यसबारे स्पेनी सरकारको एक मन्त्रीले रुबियालेसको राजीनामा समेत माँग गरेका थिए । त्यहाँका प्रधानमन्त्रीले समेत यस्तो अप्रिय घटना गराउन नहुने प्रतिक्रिया दिएका थिए ।

तर, यो चुम्बनले स्पेनी महिला टोलीको पहिलो विश्वकप जितेको ऐतिहासिकतालाई समेत छायामा पारिदियो । स्पेनले जितेको कुरा कुनै पनि मिडियामा चर्चा कम नै भयो । स्पेनी महिला टोलीको चर्चा जति हुनु पर्ने थियो, त्यो भएन । जति चर्चा भयो त यही चुम्बनकै भयो । यसले स्पेनी महिला टोलीको लागि पनि उपलब्धि अमिलो बन्न पुगेको छ ।

रुबियालेस पहिला खेलाडी थिए

१९७७ मा कानरी आइल्यान्डमा जन्मेका रुबियालेसले खेलाडी करियरमा स्टटिश प्रिमियर लिगमा तीन खेल खेलेका थिए । उनले डिफेन्डरको रुपमा करियर शुरु गरेका थिए । उनले स्पेनमा मालोर्का बी, लिएडा र जेरेजबाट खेलेका थिए । उनी यसपछि लेभान्टेमा आबद्ध भए । उनले ला लिगामा २००४ र २००७÷०८ को बीचमा ५३ खेल खेलेका थिए ।

यसपछि उनी स्कटिस टोली हेमिल्टन एकेडेमीमा पुगेका थिए । त्यहाँ तीन खेल मात्रै खेलेका उनले एक लिग कप पनि खेलेका थिए । तर, सबै खेलमा उनको टोलीले पराजय बेहोरेको थियो । उनले शायद पराजयको कारण क्लबमा सम्झौता गरेको २ सातापछि क्लब छाडे । उनको करियर रेन्जर्समा ४–१ को पराजयसँगै समाप्त भएको थियो ।

करियर सकेपछि कानुनको डिग्री प्राप्त गरेका रुबियालेसले मे २०१८ मा स्पेनी एफएमा जागिर पाए । उनले स्पेनी मेनेजर युलेन लोपेटेगुइलाई बर्खास्त गरेर चर्चा बटुले । २०१८ को पुरुष विश्वकप हुन दुई दिन अघि नै उनले स्पेनका मेनेजरको छुट्टी गरिदिए । उनले नयाँ मेनेजर नियुक्त गरेपनि स्पेन अन्तिम १६ बाट आयोजक राष्ट्रको टोली रुससँग पराजित भएर बाहिरिएको थियो ।

रुबियालेसले अगस्ट २०१८ मा अर्को कडा निर्णय गरेका थिए । त्यतिबेला अमेरिकाको मायामीमा जिरोना र बार्सिलोना खेल्न खेललाई आधिकारिता नदिएपछि बार्सिलोनाले भ्रमण रद्द गर्नुपरेको थियो । ला लिगाको यो घोषणासँग स्पेनी फुटबल महासंघ अनभिज्ञ रहेको भन्दै असहमत भएको थियो । एक वर्षपछि भियारियल र एटलेटिको मेड्रिड अदालत गएका थिए ।

रुबियालेस फेब्रुवरी २०१९ मा युईएफाको कार्यकारी कमिटीमा संलग्न भए । त्यहाँ मेमा उनी उपाध्यक्ष बने । २०२१ मा उनीमाथि कानुनी मुद्दा लागेको थियो । आर्किटेक्ट यास्मिना एड माचेटले उनीमाथि पैसा नतिरेको र दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

रुबियालेस र स्पेनको महिला टिम

रुबियालेसले सेप्टेम्बर २०२२ मा जर्ज भिल्डालाई स्पेनको महिला टिमको कोचमा फर्काएका थिए । यसको केही महिनाअघि स्पेनी टोलीका १५ जना खेलाडीले भिल्डाविरुद्ध मोर्चा बनाएका थिए । उनीहरुले ईमेलमार्फत भिल्डासँग समस्या रहेको पत्र पठाएका थिए । तर पछि खेलाडीले उनलाई बर्खास्त गर्नुपर्ने भन्नेबाट अस्विकार गरेका थिए ।

रुबियालेस कोचको समर्थनमा रहेको हुँदा भिल्डा यस विश्वकपमा स्पेनकै कोच बन्न सफल भए । ती १५ खेलाडीमा तीन खेलाडीले मात्रै भर्खर अस्टे«लिया र न्युजिल्यान्डमा सकिएको विश्वकपमा खेल्न पाए । स्पेनले सेमिफाइनलमा स्विडेनलाई हराएर फाइनल पुगेपछि भिल्डाले बताए—लुइस रुबियालेस र महासंघका हरेक पदाधिकारीको समर्थन मेरो लागि सहज बन्यो । उनीहरु सँधै मसँग रहनेछन् ।

भिल्डाले स्पेनलाई विश्वकप दिलाउन सफल भएपछि खेलाडीले कुनै गुनासो गरेनन् । तर, रुबियालेस रहुन्जेल ८१ जना खेलाडीले स्पेनको लागि नखेल्ने भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्