धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग

0
Shares

भद्रपुर। 

हिन्दुधर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्द राज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्‍यालीमा हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्‍यालीमा गोवंश तथा स्वधर्म संरक्षणका लागि सद्भाव र्‍याली निकालिएको थियो ।

धार्मिक तथा राष्ट्रिय झन्डाको प्रयोगसँग हिन्दु धर्मको पक्षमा प्लेकार्डसहितको र्‍याली प्रदर्शन गरिएको थियो । र्‍यालीमा ‘गौमाताको सम्मानमा आऔँ सबै मैदानमा’, ‘मरे बलिदान बाँचे स्वाभिमान, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाइएको थियो।

हिन्दु धर्मका विभिन्न संघसंगठनले धरानमा आह्वान गरेको शान्ति र्‍यालीसँगै पहिचानवादीका कार्यक्रमले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजे देखि शनिबार राति १२ बजे सम्म निषेधादेश जारी गरेको थियो । तर, स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर भने र्‍याली निकालिएको थियो।

इटहरीबाट निस्केको ¥याली तरहराको पानीपियासम्म पुगेको थियो । धरान क्षेत्रमा निषेधादेश जारी भएकाले पानीपियासम्म र्‍याली आएर कोण सभा गरेका थिए । उनीहरुले स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै शान्ति र्‍याली आयोजना गरेको  बताएका छन् । र्‍यालीले धरान नगर प्रमुख हर्क साम्पाङविरुद्ध नाराबाजीसमेत गरेका थिए । धरान आउने नाकामा सयौँको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । विभिन्न जिल्लाबाट गएका हिन्दु धर्मावलम्बीलाई प्रशासनले धरान जान रोक लगाएको थियो । धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध पनि प्रदर्शन गरेका थिए । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

धरानका विषयमा  विभिन्न राजनीतिक दलका नेताहरुले धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन् ।
यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन भन्दै बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।

धरानको अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुनुपर्ने बताइएको छ ।

 धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो ।

हिन्दु धर्मावलम्बीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्बीहरुले अर्को धर्मावलम्बीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोसी प्रदेशमा यतिबेला आन्दोलन चर्किँदै गएको छ ।